site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महिनावारी स्वास्थ्यबारे ज्ञान बाँड्दै हिँडेका ‘ज्ञान’

काठमाडौं । यदि, तपाइँ पुरुष हुनुहुन्छ र महिनाभरका लागि घरायसी सामान किन्न जाँदै हुनुहुन्छ भने तपाइँको सपिङ लिस्टमा स्यानिटरी प्याड पर्छ ? तपाइँको घरमा आमा, श्रीमती, दिदीबहिनी, छोरी, भाउजु अथवा कोही महिला त पक्कै छिन्, जो महिनाको एकपटक महिनावारी हुन्छन् । के उनीहरूको महिनावारी स्वस्थ बनाउन सहयोग गर्नु दायित्व तपाइँको पनि होइन र ?

करिब सात वर्षअघि स्वस्थ र मर्यादित महिनावारी अभियानको सुरुआत गर्दैगर्दा अभियान्ता ज्ञान महर्जनले यस्ता प्रश्न धेरै नेपाली पुरुषलाई सोधे । अधिकांश पुरुषको जवाफ आउँथ्यो दैनिक सपिङ लिस्टमा स्यानिटरी प्याड पर्दैन । अर्को जवाफ पनि जोडिएर आउँथ्यो महिनावारी स्वास्थ्यबारे त महिला आफैँ सजग छँदैछन् नी प्याड किनेर ल्याइदिनु नै कहाँ ठूलो कुरा हो र ? 

‘हो, प्याड किनेर ल्याइदिनु उति ठूलो सहयोग नहोला तर आफ्नो घरमा भएकी महिलालाई हरेक महिनाका केही दिन प्याड चाहिन्छ, जुन दैनिक प्रयोगका सामानजस्तै अत्यावश्यक छ भनेर हेक्का नराख्नु महिला स्वास्थ्यप्रतिको बेवास्ता भने पक्कै हो ।’ ज्ञानको ज्ञानले यही भन्यो । 

सन् २०१४ मा जर्मनीका अधिकारबादीहरुले महिनावारी स्वास्थ्यबारे पनि बोल्नुपर्छ, महिनावारीका चारदिन महिलाप्रति हुने छुवाछुत पनि एक प्रकारको हिंसा हो भन्दैगर्दा ज्ञानले नेपालका ग्रामीण बस्तिदेखि सहरसम्मको विभेदको अवस्था नियाले । महिनावारी शारीरिक र मानसिक दुवै तवरले स्वस्थ हुनुपर्छ, त्यसका लागि पुरुषको हात महत्वपूर्ण हुन्छ, यही तथ्यलाई आत्मसात गर्दै ज्ञानले स्वस्थ र मर्यादित महिनावारी अभियानको सुरुआत आफैँबाट गर्ने निधो गरे ।
  
ज्ञानबाट प्याडम्यानसम्मको यात्रा
सन् २००७ मा लैंगिक हिंसाविरुद्ध काम गर्न एक्स्पोज नेपाल नामक संस्था स्थापना गरिएको थियो । समय र घटनाक्रमअनुसारका अभियानमा ज्ञान कतिपय अवस्थामा एक्लै पनि भए । महिनावारीको समयमा महिलामाथि हुने विभेद पनि एक प्रकारको लैंगिक हिंसा हो भन्ने अवधारणाले उनलाई महिनावारी स्वास्थ्यमा नयाँ काम गर्न झक्झक्याइरहेको थियो । एकातिर ग्रामीण महिलामा स्यानीटरी प्याडको पहुँच नपुगिरहेको अवस्था, अर्कोतर्फ महिनावारीका बेला भान्सादेखि ओछ्यानसम्म उनीहरूमाथि हुने विभेद । आफूले पुरुष भएर सबै महिलालाई प्याडको पहुँचमा ल्याउने अभियानमा काम गर्दा समाजका अन्य पुरुषलाई महिनावारी स्वास्थ्यबारे जिम्मेवार बन्न सहयोग पुग्ने ज्ञानको बुझाइ थियो । कपडाबाट बनेको प्याड उत्पादन गरेर धेरैभन्दा धेरै महिलासम्म पुर्याउनु अभियानको मुख्य उद्देश्य थियो । यो कामको नेतृत्व आफूले नै गरिरहँदा स्वस्थ महिनावारी पुरुषको पनि जिम्मेवारी रहेछ भन्ने सन्देश प्रवाह गर्न सकिनेमा ज्ञान विश्वस्त थिए । यही सोचका साथका एक्स्पोज नेपालकै मातहतमा च्यारिटी शप सुरु गरेर सन् २०१६ मा कपडाबाट बनेका ९० वटा प्याड उत्पादन गरियो । पहिलो चरणमा उत्पादन गरिएका प्याड प्रयोगका लागि ९० जना महिलालाई बाँडियो । स्वस्थकर, महिलाको छालामा असर नगर्ने, पुनः प्रयोग गर्न सकिने भएपछि विस्तारै कपडाको प्याडले पहिचान पाउँदै गयोे, सँगै ज्ञानको स्वस्थ महिनावारी अभियान पनि समुदायसम्म पुग्न थाल्यो । 

कपडाबाट बनेको प्याड ।


संघर्षले दिलाएको सफलता 
पुरुष भएर महिनावारी विभेदजस्तो समाजमा वर्षैँदेखि जरा गाढेर बसेको विषयमा वकालत गर्नु ज्ञानका लागि सजिलो काम पक्कै थिएन । ‘यस्तो जस नपाउने काम किन सुरु गरेको होला...’ भन्दै आफन्त र समाज भित्रैबाट टिप्पणी गर्नेहरू कम थिएनन् । एकातिर अभियानका लागि आर्थिक जोहोको चिन्ता अर्कोतिर घरेलु प्याडमाथि विश्वास नगर्ने प्रवृति । सुरूआती चरणमा ४० वटा प्याड बिकाउन पनि धेरैलाई बिन्तिभाउ गर्नुपर्यो,” ज्ञान सन् २०१६ तिर फर्किँदै भन्छन् “म फाइन आर्टको विद्यार्थी भएको नाताले पेन्टिङको ज्ञान थियो, नाम चलेका कलाकारहरूसँग अनुरोध गरेर कम मूल्यमा पेन्टिङ किन्थेँ र हरेक वर्षको सेप्टेम्बरदेखि डिसेम्बरसम्म पाटन संग्रहालयको टिकट काउन्टर अगाडि बसेर विदेशी पर्यटकलाई पेन्टिङ बेच्थ्यौँ हामी, त्यसबाट आएको पैसा लैंगिक हिंसा विरुद्धको अभियानमा जाने कुरामा उनीहरूलाई विश्वस्त गराउँथ्यौँ र त्यसैबाट संस्था चलाउँथ्यौँ ।” 

सन् २०१८ मा माइतीघर मण्डलामा ‘म्यान मार्च’ गरियो, जसमा एक्स्पोज नेपालले पनि पुरुषलाई प्याड बाँड्ने काम गर्यो, यसको एउटै उद्देश्य थियो, पुरुषलाई महिनावारीबारे सचेत र उत्तरदायी बनाउनु । यस्ता कार्यक्रमले महिनावारी विभेदविरुद्ध एक्स्पोज नेपालको अभियानलाई सघाउ त पुर्यायो नै, कपडाको प्याडको लोकप्रियता पनि बढाउँदै लग्यो । ज्ञानको अभियानलाई परिवार र समुदायको साथ मिल्दै गयो । ज्ञानका हरेक पाइलामा सारथी बनेकी छिन्, श्रीमती मलिका महर्जन । 

महिलालाई प्याड बनाउने तालिम दिइँदै । 


फ्रान्सदेखि हङकङसम्म नेपाली प्याड 
कुनै समय ज्ञानका सातजना साथीहरूबाट सुरु भएको एक्स्पोज नेपालले अहिले प्याड बनाउने तालिमका लागि मात्रै ८ जना तालिमकर्ता उत्पादन गरिसकेको छ । २३ जिल्लाका झन्डै ५ हजार महिलालाई तालिम र ६० जना महिलालाई प्रत्यक्ष रोजगारी दिएको छ । एक प्याकेटमा चारवटाका दरले मासिक २ हजार ७०० प्याकेट प्याड बजारमा खपत हुन्छ, नियमित खपतकर्ता संस्थाहरु पनि छन् । फ्रान्स, हङकङ र जापानमा नियमित निर्यात हुन्छ । ज्ञान भन्छन् “कुनै दातृ निकायको आर्थिक सहयोग नलिएरै यहाँसम्म आइगपुगेका छौं, यो मेरोमात्रै नभएर एक्स्पोज नेपाल टिमले गरेको मेहनतको परिणाम हो ।” 

सामुदायिक अभियानदेखि ओस्कर अवार्डसम्म 
स्वस्थ महिनावारी अभियानका लागि एक्स्पोज नेपालको टोली काठमाडौंका उपत्यकाका काँठ क्षेत्रदेखि गाउँगाउँका सामुदायिक स्कुलसम्म पुग्ने गरेको छ । कहिले तालिम त कहिले सचेतना कार्यक्रम लिएर विभिन्न ठाउँमा पुगिरहने ज्ञानलाई यही अभियानले ओस्कर अवार्डसम्म पुर्यायो सन् २०१७ मा । लैंगिक हिंसाविरुद्धको अभियानमा सक्रिय रहेको भन्दै २०१७ मा उनले ‘बेस्ट मेल एक्टिभिस्ट’को रुपमा अनेस्टी ओस्कर अवार्ड पाउन सफल भए । पहिलो अन्तर्राष्ट्रिय अवार्डले आफ्नो अभियानमा उर्जा थपेको केही वर्ष नबित्दै ज्ञानलाई अर्को एउटा सफलता हात परेको छ । एसिया अवार्डअन्तर्गत उनले ‘बेस्ट सोसियल एक्टिभिस्ट अवार्ड २०२०–२१’ पाउँदैछन्, जसका लागि आगामी १६ जुनमा उनी भारतको तमिलनाडुतर्फ जाँदैछन् । आफूले फलको आश नगरेर आफ्नो सामाजिक दायित्व निर्वाह गरिरहेको अवस्थामा यस्ता अचिभ्मेन्ट्सले आफूलाई थप जिम्मेवारीबोध गराएको ज्ञानको अनुभव छ । 

“खुसी त त्यतिबेला थपिन्छ, जतिबेला महिला दिदीबहिनीहरू हामीले बनाएको प्याडले यहाँहरूको स्वास्थ्यमा फाइदा भएको सुनाउँदै आइपुग्नुहुन्छ,” ज्ञान आफ्नो अनुभव सुनाउँछन् ।
 
महिनावारीबारे यसकारण पुरुषले बोल्नु आवश्यक छ... 
स्वस्थ महिनावारीबारे ज्ञानको अभियानको मुख्य उद्देश्य नै महिनावारीप्रति पुरुषलाई सचेत, सजग र उत्तरदायी बनाउनु हो । उनी भन्छन्  “शारीरिक रुपमा महिला त्यो समयमा कमजोर भएका हुन्छन् नै, उनीहरुप्रति गरिने विभिन्न विभेदकारी व्यवहारले मानसिक रुपमा थप कमजोर बनाउँछ । हामी शारीरिक र मानसिक दुवै ढंगले महिनावारी स्वस्थ हुनुपर्छ भन्ने चाहान्छौँ त्यसका लागि पुरुष आफूले सहयोग गर्ने त छँदैछ घरका अरु सदस्यबाट पनि विभेदकारी व्यवहार हुन नदिन पुरुषले अहम् भूमिका निर्वाह गर्नुपर्छ ।” 

महिनावारी विभेदविरुद्ध वकालत गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था लामो समयदेखि लागि परेका छन् नेपाली समाजमा । त्यसो त नेपालको कानुनले नै महिनावारीका बेला हुने विभेदकारी व्यवहारलाई कसुरको रुपमा परिभाषित  गरिएको छ । तर, सरकारी तथा अन्य तवरबाट भएका छाउगोठ भत्काउनेजस्ता कार्यले महिनावारी विभेदको अन्त्य नहुने ज्ञानको तर्क छ । “जबसम्म व्यक्ति सचेत हुँदैन, घरको मान्य व्यक्ति जिम्मेवार हुँदैन तबसम्म छाउगोठ भत्काएर विभेदको अन्त्य हुँदैन । बरु सरकारले त्यहाँका मानिसमा भएको नकारात्मक मान्यता भत्काउन लगानी गरोस्,” उनी थप्छन्, “प्याडको माध्यमबाट महिनावारी विभेदविरुद्ध मैले थालेको अभियान यही नकारात्मक सोच भत्काउने एउटा माध्यम हो ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro