काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू मन्त्री बनेपछि समाजकल्याण परिषद्मा रोकिएका परियोजनाहरू स्वीकृत गरेको बताएकी छन् । उनले चालु आर्थिक वर्षमा समाजकल्याण परिषद्ले ७५ अर्ब रुपैयाँभन्दा बढीको परियोजना स्वीकृत गरेको बताइन् ।
बुधबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सात महिनाको अवधिमा विभिन्न बहानामा रोकिएका परियोजनाहरू अध्ययन गरेर अघि बढाइएको उनले उल्लेख गरिन् । परिषद्लाई पारदर्शी र जनमुखी बनाउन पूर्ण रूपमा डिजिटलाइज गरिने उनले जानकारी दिइन् ।
“परिषद्मा अनावश्यक रूपमा फाइल रोकिने गरेको गुनासो छ । अब कुनै बार्गेनिङ चल्दैन,” उनले भनिन्, “यसलाई अन्त्य गर्न समाजकल्याणको पूरै सिस्टम प्रविधिमैत्री बन्नेछ ।”
कार्यक्रममा मन्त्री रेग्मीले एनजीओले सीप तथा आयमूलक कार्यक्रम गरेर महिलालाई उत्प्रेरित गराउनुपर्नेमा जोड दिइन् । उनले महिलालाई उद्यमी बनाउन विशेष कार्यक्रममार्फत बजेट विनियोजन गरिने बताइन् ।