काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वासप्रति सधैँ इमान्दार रहन निर्देशन दिएको छ ।
पार्टीका महासचिब बेदुराम भुसालले विशेष परिपत्र जारी गर्दै निर्वाचनका बेला जनता समक्ष गरेको चुनावी वाचालाई कहिल्यै लभुल्न आग्रह गरेका छन् ।
“जनताको विश्वासप्रति सधै इमान्दार रहनुहोला । जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुहोला । निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै लभुल्नुहोला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारिता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्नुहोला,” परिपत्रमा भनिएको छ, “निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला । सम्बन्धित पार्टी कमिटीका निर्णय र निर्देशनको पालना गर्नुहोला ।”
एकीकृत समाजवादीले आगामी जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।
“जवाफदेहिता र पारदर्शिता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र हो जसले जनताको सेवामा समर्पित योद्धाहरूलाई ऊर्जा समेत प्रदान गर्दछ,” सर्कुलरमा उल्लेख छ, “तसर्थ, हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला । उक्त कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन गरिन्छ ।”