पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका दुईवटा वडाको पुनः मतगणना गर्नुपर्ने मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ ।
ती दुवै वडामा नेकपा (एमाले) विजयी भएको थियो । वडा नम्बर–१ को वडाध्यक्ष पदमा एमालेका साहरा प्रधानले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका थिए । वडा–१७ मा एमालेका राधिकाकुमारी शाहीले कांग्रेसका देवराज आचार्यलाई पराजित गरेका थिए ।
वडा–१ मा प्रधानले एक हजार १४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी गुरुङले एक हजार १०४ मत पाइन् । ४१ मतान्तरले कांग्रेस उमेदवार पराजित भएका हुन् ।
१७ को वडाध्यक्षमा एमालेकी शाही दुई हजार ६२५ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी आचार्यले दुई हजार ५४२ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ८३ छ ।
कांग्रेसका उमेदवारले यी दुवै वडामा पुनः मतगणनाको मागसहित हस्तलिखित निवेदन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका छन् ।
यता, एमालेले वडा–१८ को पुनः मतगणना गर्नुपर्ने माग गरेको छ । यहाँ वडाध्यक्षमा एमालेका उमेदवार शिव तिमिल्सिना कांग्रेसका पुष्कल थापासँग तीन मतले पराजित भएका छन् । थापाले एक हजार ६४३ मत ल्याउँदा तिमिल्सिनाले एक हजार ६४० मत पाए ।
पुनः मतगणनाको माग राख्दै एमालेका प्रतिनिधि मतगणनास्थलबाट बाहिरिएका छन् । उनीहरू मतगणनामा नगएका कारण वडा नम्बर–२२, ३२ र ३३ को मतगणनाकार्य प्रभावित बनेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बारम्बार मतगणनाका लागि प्रतिनिधि पठाउन माइकिङ गरे पनि उनीहरू आएका छैनन् । मतगणनास्थलबाहिर पुनः मतगणना सुरु गर्नुपर्ने भन्दै नाराबाजी समेत भइरहेको छ ।