वीरगञ्ज । सबै जना चुनावी चटारोमै व्यस्त हुँदा रक्तदान कार्यक्रम नभएकाले यतिबेला रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेका अनुसार शुक्रबारदेखि केन्द्रमा हरेक समूहको रगतको अभाव भएको हो ।
केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भिर रोगका बिरामीको उपचारमा समस्या हुन थालेको नारायणी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दासले बताए । वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको र मौज्दात रगत पूर्णरूपले समाप्त भएको पाण्डेले जानकारी दिए ।
अहिले केन्द्रमा रगत माग गर्न आउनेहरूसँग सोधभर्ना वापत रगत लिएर रगत दिने काम भइरहेको पाण्डेले बताए । रक्तदान कार्यक्रम गर्ने सामाजिक संस्था र राजनीतिक दलहरू स्थानीय तह निर्वाचनमै केन्द्रित हुँदा पछिल्लो एक महिनादेखि रक्तदान कार्यक्रमको आयोजना नभएको पाण्डेको भनाइ छ ।
“गर्मीमा यतिकै पनि रक्तदानका कार्यक्रमहरू कम हुन्छन् त्यसमाथि बढी रक्तदान कार्यक्रमहरू आयोजना गर्ने सामाजिक संघ संस्था र राजनीतिक दल स्थानीय तह निर्वाचनमा व्यवस्त भएका कारण पछिल्लो एक महिनादेखि पर्सा र बारामा कुनै पनि ठूलो रक्तदान कार्यक्रम नै भएको छैन,” पाण्डेले भने ।
पाण्डेले स्थानीय संघ–संस्थाहरूसँग रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै केन्द्रमा पुगेर भए पनि रक्तदान गर्न आग्रह गरेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएसँगै दुई जना चिकित्सकले नै रक्तदान गरेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालका वरिष्ठ फिजिसियनद्वय डा. निरजकुमार सिंह र डा. सरोजरोशन दासले रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गरेका छन् ।