निर्वाचन परिणाम लगभग घोषणा भइसकेको छ । जति बाँकी छ तिनकाे पनि झुकाव स्पष्ट भइसकेको देखिन्छ । एकाधमा तलमाथि पर्नसक्ला तर अब खासै फरक पर्दैन ।
पालिका प्रमुखहरूमा जितेका आधारमा दलहरूको नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् । यसपछि सत्ता गठबन्धनका अरू दल रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो साख जोगाएको छ ।
यी सबैभन्दा मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टी र सुदूर पश्चिममा रेशम चाैधरीकी पत्नीको नेतृत्वको नागरि उन्मुक्ति पार्टीको विजय यस निर्वाचनकाे उल्लेखनीय पक्ष हो । र, सबैभन्दा चकित पार्ने प्रवृत्ति भने काठमाडौं र धरानमा देखियो । धनगढीको परिणाम अस्वाभाविक होइन । भरतपुरमा जगन्नाथ पौडेलकाे अडान चुनावको इतिहासमै एउटा उदाहरण बन्यो ।
रैतीबाट नागरिक !
दलका नेताले मतदातालाई रैती ठानेर आफूखुसी गठबन्धन गरे । उमेदवार तोके । मतदाताले तिनको अहङ्कार तोडे । वास्तवमा यसपटकको निर्वाचन मतदाता र नेताहरूका बीचमा भयो । नेता हारे । मतदाता जिते ।
दलका ‘परम्परागत मतदाता’ भन्ने भ्रम पनि टुटेको छ । यसै पनि स्थानीय तहको निर्वाचनमा उमेदवारकाे व्यक्तित्व बढी निर्णायक हुनेगर्थ्यो । नेताहरूले ती मतदातालाई आफ्ना अनुचर कार्यकर्ताजस्तै ठान्छन् । मतदाताले भने नेताहरू यो मानसिकता मन पराएनन् । कतिले त नेताहरूको हैकमकै विरोधमा मत हाले । पार्टीका नेताले नपत्याएकालाई जनताले पत्याएका पनि बग्रेल्ती उदाहरण छन् ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि यसरी नै खल्तीबाट उमेदवारी दिए हुने परिणामको अहिले नै भविष्यवाणी गर्न सकिने देखिन्छ । अर्थात्, नेपाली मतदाता रैती रहेनन् नागरिक भए । लोकतन्त्रको जित हो यो ।
जनताले दिएको सजाय
एमालेले अगिल्लोपटक धेरै पालिकामा प्रमुख जितेको थियो । अहिले काग्रेसले धेरै पालिका प्रमुख जितेको छ । अगिल्लो कार्यकालमा राम्रो काम गर्न नसके पनि नेताका कृपाले दोहोरिएका धेरै उमेदवार हारेका छन् । गठबन्धनभन्दा पनि सायद यस प्रकारको नतिजाकाे निर्णायक कारण सत्ताविरोधी (एन्टीइन्क्युबमेन्सी) प्रवृत्ति हो ।
अधिकाश शिक्षित युवा र नयाँ व्यक्ति मतदाताको प्राथमिकतामा परेको देखियो । अगिल्लोपटक जितेकाहरू धेरै हारेका छन् । यसै कारणले एमालेको बढी घटेको र कांग्रेसको बढेको हुनसक्छ । एमाले चोइटिएको लाभ पनि कांग्रेस र माओवादीलाई भयो । जे भए पनि मतदाताकाे निर्णय हो ।
अर्थात्, यसलाई घात, अन्तरघात वा प्रतिघात आदि इत्यादि भनिरहनुको कुनै तुक देखिँदैन । यो जनताले दिएको सन्देश र सजाय हो ।
हैकम अस्वीकार !
उमेदवारीमा केन्द्रको हस्तक्षेपलाई मतदाताले मात्र होइन कार्यकर्तासमेत रुचाएनन् । काठमाडौं, भरतपुर, पोखरा, धनगढी जताततै सबै दलका विशेषगरी कांग्रेस र एमालेका कार्यकर्ताले प्रत्यक्ष परोक्ष सन्देश दिए - हैकम मन्जुर छैन ।
जनकपुरमा नेपाली कांग्रेसले प्रमुख पद जनता समाजवादी पार्टीलाई छाड्यो । तर, त्यहाँका कांग्रेसजनले छाडेनन् । नगरसभापति स्वयंले स्वतन्त्र उमेदवारी दिए । अहिलेसम्मकाे मतपरिणाम हेर्दा मतदाताले उनकाे विद्रोह रुचाएकै देखिएको छ । बर्दीवासमा कांग्रेसका नेताले उमेदवारी दिने र खाेस्ने ‘गाईजात्रा’ देखाए । जनताले विद्रोही उमेदवारलाई जिताएर नेतालाई देखाइदिए । अरू पनि थुप्रै ठाउँमा कांग्रेस वा एमालेका नेताले नरुचाएका नपत्याएका कार्यकर्तालाई जनताले जिताए ।
अर्थात्, अब नेताहरूको हैकम चल्दैन । जुन पार्टीको नेता सुध्रिँदैनन् तिनलाई जनताले छाड्नेछन् ।
छोइछिटो सकियो त ?
नेपालकाे राजनीतिमा वर्ग र समुदायका नाममा गर्ने गरिएको राजनीतिको पनि मुकुन्डो फुस्क्यो । यसपटक लगभग सबै दलले सबै दलसँग गठबन्धन गरेका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले गठबन्धनलाई जति कटाक्ष गरे पनि उनको पार्टीले यसपटकको निर्वाचनमा सबैसँग तालमेल गरेको देखियो । सत्ता गठबन्धनले पनि भित्र र बाहिर जता जोसँग मिल्दा चुनाव जितिएलाजस्तो लाग्यो उतै मिल्ने प्रवृत्ति देखायाे ।
एक दृष्टिले याे चुनावकाे सकारात्मक पक्ष नै भयो । कम्तीमा राजनीतिक छोइछिटो त सकियो नि ! झन्डै एक वर्ष माधव नेपालकाे पार्टी नेकपा (एकीकृत समाजवादी)काे अस्तित्व स्वीकार नगरेर संसद् चल्न नदिने एमालेले समेत एकीकृत समाजवादीसँग तालमेल गरेको देखियो ।
अर्थात्, अब कुनै पार्टीले कुनै वर्ग वा समुदायको हितैषी दाबी गर्ने ठाउँ पनि रहेन भने कोही चोखो र शुद्ध पनि रहेन । यद्यपि, केही दिनमै नयाँ भाष्य बनाएर मदारीहरूले फेरि अर्कै चटक देखाए पनि आश्चर्य नमाने हुन्छ ।
नजिककाले नरुचाएका नेता
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरूले मतदान गरेकै वडामा तिनका उमेदवारले चुनाव हारे । हुनत यो ससामान्य कुरा हो तर नजिकका मानिसले तिनलाई कसरी हेर्दा रहेछन् भन्ने झलक पनि त हो ।
राज्यको स्रोत दोहन गर्दा आफूलाई ठूलो र अर्कै तहको मान्छे ठान्ने नेताहरूको मानसिकतामात्र होइन जीवन शैलीले पनि तिनलाई ईर्ष्या र घृणाको पात्र बनाएकाे छ । तिनको ठूल्याइँ र अहङ्कार तिनैका चाटुकार र पोष्यपुत्रहरूबाहेक अरूलाई मन्जुर नभएको नागरिकले देखाएका हुन् ।
अर्थात्, मौका पाउँदा जनताले कसैको पनि अहङ्कारलाई प्रहार गर्न हिचकिचाउँदा रहेनछन् ।
बागीहरूको सम्मान
नेताले नरुचाए पनि जनताको समर्थन पाएका ‘बागी स्वतन्त्र’हरू छिटै नै पुरानै दलमा फर्कन पनि सक्छन् । त्यसो त अरू स्वतन्त्र भनिएकाहरू पनि दलप्रति आकर्षित हुन सक्छन् । नगर/गाउँ सभामा दल विशेषकाे बहुमत भए नवजिकने बाध्यता पनि हुनसक्छ । उनीहरू कुनै पार्टीमा प्रवेश गरे पनि पद नजाने सुविधामा जो छन् । तर, तिनलाई स्वागत गर्ने उदारता दलका नेतामा पनि आवश्यक हुन्छ ।
स्वतन्त्रमा पनि मनाेज साह वा प्रल्हाद कार्कीहरू र बालेन शाह, हर्क साम्पाङहरूबीचमा भने फरक हुन्छ । आफूले गरेको अन्यायविरुद्ध उमेदवारी दिनेहरूलाई पार्टीमा फर्काउन झुक्ने हिम्मत नेताहरूले नगरे उनीहरूसँगै मतदाता पनि टाढिदै जान्छन् । तर, कांग्रेसका नेतामा त्यस अर्थमा एमालेका नेतामा पनि अहङ्कार अलि बढी नै छ । यसले धेरैवटा दमौली बनाउने निश्चितै छ ।
बालेन वा हर्कहरूले भने जुन पार्टी रोजे पनि मतदातालाई धोका नै हुन्छ । यसैले यिनको कार्म गराइ र इमानदारीले नेपाली लोकतन्त्रको दशा र दिशा निर्देश गर्नेछ । यिनीहरू सफल भए दलका नेताको हैकम कमजोर हुनेछ भने विफल भए वा कतै टाँसिए भने नेपाली लोकतन्त्र ठालुतन्त्रमै फर्कनेछ ।
र अन्त्यमा
सुनेको एउटा हल्ला !
प्रतिनिधि सभाको निर्वाचनका बेला २०७४ मा एक जना उमेदवारसँग पार्टीका गाउँस्तरका कार्यकर्ताले ठूलै रकम मागेछन् । उमेदवारले दिन बाध्य भएछन् । तर, चुनाव हारे । स्थानीय तहको चुनावमा तिनै कार्यकर्ताले पार्टीका उनै नेतासँग टिकट मागेछन् । नेताकाे पालो पहिलो दिएको पैसाको डबल असुलेर उमेदवारी दिए रे । ब्ल्याकमा उमेदवारी किन्ने कार्यकर्ताले पनि चुनाव हारे । अनि दुवै जना तैँ चुप मै चुप छन् रे !