काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेपछि सभामुख सापकोटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
बैठकमा सांसद थापाले उक्त घटना गम्भीर भएको बताएका थिए । उक्त घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनले बताए । थापाले कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताए ।
सांसद थापाले धारणा राखेपछि सभामुख सापकोटाले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै तत्काल छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिए ।
बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी थिइन् ।