काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार घनश्याम गिरी विजयी भएका छन् ।
नेकपा (एमाले)का उमेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित भएका हुन् । विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार अजय श्रेष्ठले एक हजार २१४ मत प्राप्त गरे । चन्द्रागिरी नगरप्रमुखमा १७ जनाले उम्मेदवारी दिएका थिए । विजयी गिरी यसअघि पनि सोही नगरपालिकाको प्रमुख थिए ।
उपप्रमुखमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएकी छन् । विजयी श्रेष्ठले १५ हजार ५६४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका उमेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले चार हजार ४५९ मत प्राप्त गरे ।
उक्त नगरपालिकाको उपप्रमुखमा १० हजारभन्दा बढी मत बदर भएको थियो । कुल १५ वडा रहेको चन्द्रागिरीमा कुल ४७ हजार २६४ मतदाता रहेकामा यो स्थानीय तहको निर्वाचनमा ३६ हजार ७०३ मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरी काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो । रासस