काठमाडौं । तिब्बत हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया शुक्रबारदेखि तीनदिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री जिया अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजकसमेत हुन् ।
हाल जिया भारतस्थित तिब्बती निर्वासित सरकार र धर्मगुरु दलाई लामासँग भेटेर नेपाल आउन लागेकी हुन् । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षका अवसरमा उनी आउन लागेकी हुन् ।
उपविदेशमन्त्री जियाभन्दा अगाडि यसै वर्ष दुई अमेरिकी प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेका छन् । डेमोक्रेटिक पार्टीकी सिनेटर (सांसद) क्रिस्टेन गिलिब्रान्ड नेतृत्वमा ६ सदस्यीय टोलीले ९ देखि ११ वैशाखमा तथा ६ देखि ८ वैशाखमा दक्षिण तथा मध्यएसियाली मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले भ्रमण गरेका थिए ।
युएसएआईडीका एसिया हेर्ने उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण, प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसैबीच, दलाई लामासँग भेट गरेर अमेरिकी उपविदेशमन्त्री जिया नेपाल भ्रमणमा आउन लागेकोमा चिनियाँ पक्षले गहिरो चासो व्यक्त गरेको छ । अमेरिकी उपविदेशमन्त्रीको पछिल्लो नेपाल भ्रमणलाई सतर्कतापूर्वक हेरेकी चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छिन् ।
गृहमन्त्रीको सचिवालयले चिनियाँ राजदूतले अमेरिकी उपविदेशमन्त्रीको भ्रमणबारे चासो राखेको विषयमा अनभिज्ञता जनाएको छ । तर, सरकारी एक स्रोतले एमसीसी अनुमोदनमा र त्यसपछि बढ्दो अमेरिकी प्रभावलाई लिएर चिनियाँ पक्षले गम्भीर चासो राख्दै आएको छ ।