काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार प्रशान्त विष्टले अग्रता कायम गरेका छन् । विष्टले ९८४ मत प्राप्त गर्दा राप्रपाका उमेदवार नन्दलाल वैश्यले ३६६ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार पशुपतिदयाल मिश्रले ३४० मत पाएका छन् । पहिलो नम्बरमा रहेका विष्ट दोस्रो नम्बरमा रहेका वैश्यभन्दा भारी मतान्तरले अगाडि छन् ।
नेपालगन्ज राप्रपाका महामन्त्री धवलशमशेर जबराको गृहनगर हो । उनी नेपालगन्जका निवर्तमान प्रमुख समेत हुन् ।
उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ८८६ मतसहित अग्रस्थानमा छन् । राप्रपाकी विन्दु चर्तीमगरले ४४५ मत ल्याएकी छन् । तेस्रो स्थानमा रहेकी एमालेकी शान्ति ढकालले २९३ मत पाएकी छन् । मतगणना जारी छ ।