काठमाडौं । उपभोक्ताको भान्सा थप महँगिएको छ ।
चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ । यो फागुन महिनाको तुलनामा ०.१४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको चैत महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकानुुसार समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत छ ।
२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अन्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।
यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।