स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको चुनाव न्याय र अन्यायकाे ‘कुरुक्षेत्र’ बन्ला भन्ने सायद धेरैले चिताएकै थिएनन् होला । चितवनवासी र नेपाली कांग्रेसका कार्यकर्तालाई राम्ररी चिनेकाहरूले भने चितवनले धेरै थिचोमिचो सहँदैन भन्ने बुझेका थिए र केही विशेष हुने लख काटेका थिए ।
नेपाली कांग्रेसका निष्ठावान् नेता जगन्नाथ पौडेलले भरतपुरका मात्र होइन देशका असंख्य सहयोद्धाहरूकाे भावनाकाे प्रतिनिधित्व गरे । यहीबापत उनलाई धम्क्याउन बहालवाला र पूर्व गरी तीनजना प्रधानमन्त्री भरतपुरमा सभा गर्न पुगे । अर्थात्, जीवन राजनीति, वकालत र शिक्षणमा लगाएका वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलको विद्रोहले ऋषिहरूको तपस्याले इन्द्रासन हल्लाएको पौराणिक कथाले नयाँ सन्दर्भ पायो ।
स्वाभिमानविरुद्ध सत्ताधारीको आसुरी हुँकार
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको प्रत्येक शब्दमा दम्भ र कटुता भरिएको थियो । पौराणिक कथामा शक्तिशाली असुरहरूजस्तै तिनको अभिव्यक्तिमा ‘हिंसा’ भरिएकाे थियो ।
अध्यक्ष दाहालले त प्रधानमन्त्री देउवालाई नै साक्षी राखेर उनकी छोरीले चुनाव नजिते देश दुर्घटनामा पर्ने चेतावनी दिए । अब त कांग्रेस कार्यकर्ता सबैले मत दिँदासमेत रेणुले हारिन् भने पनि दोष देउवाकै दलमाथि लाग्ने भयो ।
माधव नेपालले जगन्नाथलाई धम्की दिँदै भने - उमेदवारी फिर्ता नलिए जनताले फैसला गर्छन् । अरूले नबुझे पनि कांग्रेसजनले त यस्तो धम्कीको अर्थ पक्कै बुझेका छन् । कम्तीमा पुराना कांग्रेसले । कम्युनिस्टहरूले जनताकाे नाम लिएर गर्ने ज्यादतीको भुक्तभोगी त कांग्रेसहरूभन्दा बढी अरू को होलान् र ? जगन्नाथ पौडेल माधव नेपालजस्ताको धम्कीले डराएनन् । तर, त्यति आँट धेरैले गर्न सक्तैनन् ।
ठालुतन्त्रको सेखी
भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसकाे उमेदवार छैन । कांग्रेसका नेता जगन्नाथ पौडेलले त्यस पदमा उमेदवारी दिएका छन् । कुरा यत्ति हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालकाे निर्वाचन क्षेत्र र उनैकी छोरी उमेदवार नभएकी भए भरतपुरमा त्यति ठूलो शक्ति प्रदर्शन हुने थियो त ? पक्कै हुने थिएन ।
लोकतन्त्रका पक्षमा
भरतपुरवासीले यसपटक मौका पाएका छन् नेपालकाे राजनीतिलाई ठालुतन्त्रबाट मुक्त गर्ने । पहिलो जनआन्दोलन २०४६ मा चितवनका गणेश पौडेल पहिला सहिद भएका थिए । उनकाे सहादत पञ्चायत नामको हुकुमीतन्त्रविरुद्धकाे निर्णायक आन्दोलनमा प्रेरक बनेको थियो । संयोगले अहिले अर्का पौडेल जगन्नाथ ठालुतन्त्रविरुद्धको युद्धको मोर्चामा छन् । उनकाे विजयमा दल र देशलाई हैकममा राख्न दोज्ने ठालुहरूकाे हार हुनेछ । अर्थात्, लोकतन्त्र फर्काउने अभियानकाे थालनी हुनेछ ।
ठूला पार्टीका नेताहरूकाे ‘हैकमवादी’ सोच र सत्ता नसकिँदासम्म देशमा लोकतन्त्र, विधि र पद्धतिकाे जग बस्नेछैन । थाहा छ, जगन्नाथको जितले डँडेलधुराका मतदातालाई धम्कीबाट मुक्ति मिल्छ । कर्ण मल्लहरू पार्टीबाट निकालिने छैनन् ।
जगन्नाथ पौडेलको जितले अहिले सबै पार्टीमा चलेको ठालुतन्त्रलाई चुनौती हुनेछ । अनैतिक, अलोकतान्त्रिक बाटामा लगिएको नेपालको राजनीतिको दिशा बदलिनेछ । जगन्नाथको जितले देउवा, दाहाल, नेपालको मात्र होइन खड्गप्रसाद ओलीको पनि ठालुतन्त्र मक्किने र सच्चिनेछ ।
स्वतन्त्र उमेदारीकाे लहर
अहिले स्वतन्त्र उमेदवारी दिनेहरू केही पार्टीका नेताकाे अन्यायले सीमा नाघेपछि मैदानमा उत्रेकाहरू छन् । उनीहरू बहुलदीय लोकतन्त्रकै विरुद्धमा चुनावमा उत्रेका होइनन् । नेताका अन्यायबाट सहयोद्धालाई मुक्तिकाे बाटो देखाउन उनीहरूले विद्रोह गरेका हुन् । यसैले तिनकाे जितले दलका नेतालाई सुध्रिन कर लाग्नेछ ।
अर्काथरी पार्टीमा नजोडिएका स्वतन्त्र उमेदवार छन् । तीमध्ये कतिपयकाे राजनीतिक विचार स्पष्ट छैन । तिनकाे लोकतान्त्रिक प्रतिबद्धता पनि पुष्टि भएकाे छैन । यिनले जिते भने पनि राजनीतिक दलहरूमा सुधार त हुँदैन । भ्रष्ट ठालुतन्त्र यथावत् रहन्छ ।
नेतातन्त्रको अन्त्य : लोकतन्त्रका लागि अपरिहार्य
अहिले दलहरूमा लोकतन्त्र होइन ‘नेतातन्त्र’ स्थापित छ । जनताभावनाको त कुरै नगरौ कार्यकर्ताकै भावनाकाे पनि उपेक्षा गरेर केन्द्रीय नेताको स्वार्थमा पार्टीकाे निर्णय हुन्छ । अहिलेकै नेता सधैँ सत्तामा रहने चाँजोपाँजो मिलाइएकाे हुन्छ । नेता बदलियो भने पनि प्रवृत्ति उही रहन्छ ।
यसमा सुधार होस् भन्ने चाहने हो भने नेताले पाठ सिक्नेगरी कार्यकर्ता र मतदाताले विद्रोहीहरूलाई मतदान गर्नुपर्छ । दलहरू नसुध्रे पनि हुन्छ भन्ने ठान्नेहरूले पनि विचार गरुन् यो रोग मासिएन भने आफैँलाई पनि लाग्न सक्छ ।
अपूर्व मौका
अहिले दल नेताकाे बपौती वा दाइजो होइन भन्ने सिद्ध गर्ने बेला भएको छ । अहिले स्थानीय तहको निर्वाचनमा नेताहरूले खुट्टा कमाए भने देउवाले संसदीय निर्वाचनका बेला उमेदवारी चयन गर्दा नै पार्टीभित्रका प्रतिस्पर्धीले जित्ने ठाउँमा गठबन्धनकाे अर्को दलको भागमा दिन सक्छन् । चितवन प्रतिनिधि उदाहरण हो । चितवन कांग्रेसमा देउवा समूहकाे पराजयको बदला अहिले महानगरको नेतृत्व माओवादी केन्द्रलाई सुम्पेर लिइयो ।
विद्रोहको अर्को रूप
चितवनपछि सम्भवतः तनहुँ यसपटकको निर्वाचनमा बढी चर्चामा आएको छ । तनहुँमा अन्याय ५ वर्ष पहिले नै सुरु गरिएको थियो । प्राविधिक कारण बनाएर श्रीभद्र शर्मा र गोवर्धन पोखरेलपछि तनहुँकाे कांग्रेस संगठनमा बढी योगदान भएका गोविन्दराज जोशीलाई पाखा लगाउने षड्यन्त्र गरियो ।
त्यसैको प्रतिफल जोशीजस्ता कट्टर कम्युनिस्ट विरोधी नेता नेकपा (एमाले)सँग मिल्न बाध्य भए । जोशीलाई एमालेकाे निकट धकेल्नेहरूले बुझे हुन्छ यस निर्वाचनपछि धेरै जाेशीहरू जन्मनसक्छन् । तिनको विद्रोहले संगठितरूप लियो भने कम्युनिस्टहरू मिलेनन् भने पनि संसदीय निर्वाचन परिणाम अर्कै हुनसक्छ ।
शिर नझुकाउने हो भने
यसैले कांग्रेसका सिद्धान्तनिष्ठ कार्यकर्ताले सामूहिक विद्रोह नगरे पार्टी ‘सिन्डिकेट’मा सीमित हुने निश्चितै देखियो । देउवाकाे आदेशमा शिर नझुकाउनेहरूले अहिले नै संसदीय निर्वाचनका लागि विद्रोही उमेदवार बन्ने कि आत्मसमर्पण गर्ने भन्ने निधो गरे हुन्छ ।
आशा गरौँ, यसपटक चक्रव्यूह भेदन गरेर अभिमन्युहरू सकुशल फर्कन सफल हुनेछन् । धृतराष्ट्रको साम्राज्य खोसिनेछ । अर्थात्, ‘समुद्री बुढो’लाई काँधबाट फाल्न सिन्दावादरूपी नेपाली जनता समर्थ हुनेछन् । देश ‘ठालुतन्त्र’बाट सधैँका लागि मुक्त हुनेछ ।