काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुर र काठमाडौंमा महिला मेयरको उमेदवार उठाउँदा कूप्रचार भएको बताएका छन् । उनले एकथरी मानिसहरूले कसैलाई छोरीको रूपमा त कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्न खोजेको आरोप लगाए ।
शुक्रबार काठमाडौंको शान्तिबाटीकामा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले महिलाहरू कार्यकारी भूमिकामा पुग्नु समाज रूपान्तरण र परिवर्तनको पक्षबाट सकारात्मक तथा प्रगतिशील पक्ष भएको बताए ।
उनले पुरुषहरूले समाज रूपान्तरणमा लछारपाटो लगाउन नसकेको भन्दै अब महिलाहरूलाई कार्यकारी भूमिकामा विजयी गराउन आवश्यक भएको पनि बताए ।
“एकथरी एकथरी मानिसहरूले कसैलाई छोरीको रूपमा त कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्न खोजेका छन्,” उनले भने, “यो नकारात्मक प्रवृत्ति हो । महिलाहरूको योग्यतालाई विश्वास गर्नु देशको आवश्यकता हो । हामी पुरुषहरूले धेरै राज गरेर साह्रै धेरै लछारपाटो लागउन सकिएन । एकपटक महिलाहरूलाई कार्यकारी पदमा भूमिका दिएर हेरौँ ।”