विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (एमाले) बेलाबारीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बेलबारी नगरपालिकाको प्रमुख पदका उमेदवार डिबी राईले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै समृद्ध नगर बनाउने दृढता व्यक्त गरे ।
आफूले नेतृत्व पाए बेलबारीलाई सफा, सुन्दर र हरियाली नगर बनाउने कार्ययोजना उनले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । उनले नीति, कानुन र योजना कार्यान्वयनमा जोड दिने जनाएका छन् ।
प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, सडक यातायात, ढल निकास, कृषिको विकास, वन तथा वातावरण संरक्षण, सामाजिक सुरक्षालगायत विषयलाई प्राथमिकतामा राखिएको छ ।
पर्यटन नगरीका रूपमा बेलबारीको विकास गरिने उनको प्रतिबद्धता छ । बहुसांस्कृतिक संग्रहालय निर्माण गरिनेलगायत विषय प्रतिबद्धतापत्रमा छ ।
विराटनगरलाई व्यवस्थित नगर बनाउने प्रतिबद्धता
यसैबीच, विराटनगर महानगरपालिकाका एमाले उमेदवारले व्यवस्थित नगर बनाउने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा एमालेका तर्फबाट विराटनगरको मेयर पदका उमेदवार सागर थापा र उपमेयरकी उमेदवार शिल्पा कार्की भोट माग्न वडावडामा पुग्दै समुन्नत सहर निर्माण आफूहरूको योजना भएको सुनाएका हुन् ।
थापाले आफूले निर्वाचन जिते एमालेले अघि सारेको ‘समृद्ध विराटनगर, सुखी नगरवासी’को अवधारणालाई साकार पार्ने प्रतिबद्धता जनाए ।