काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई थल सेनाध्यक्षमा नियुक्ति भएकोमा भिडियो कन्फरेन्समार्फत बधाई तथा शुभकामना दिएका छन् ।
उनले कन्फरेन्समा नवनियुक्त सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिँदै भने, “नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध छ । उहाँको कार्यकालमा सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास लिएको छु ।”
भारतीय थल सेनाध्यक्ष जनरल पाण्डेले प्रधानसेनापति शर्माको निमन्त्रणालाई स्वीकार गर्नुका साथै आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाएका थिए । उनले दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी, सेनाका प्रवक्ता नारायण सिलवालले नवनियुक्त जनरल पाण्डेलाई सेनाको औपचारिक ट्विटर ह्यान्डलबाट ट्विट गर्दै बधाई दिनुका साथै उनको नयाँ कार्यकालको सफलताको लागि शुभकामना समेत दिएका छन् ।
गत अप्रिल ३० मा सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवा निवृत्त भएपछि पाण्डेलाई रक्षा मन्त्रालयले औपचारिक रूपमा सेना प्रमुखको जिम्मेवारी सम्हाल्न नियुक्त गरेको थियो । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् ।
वैशाख १ देखि पदभार ग्रहण गरेका पाण्डे कोर्पस अफ इन्जिनियर्सबाट प्रधानसेनापति बन्ने पहिलो अधिकृत हुन् । उनी सन् १९८२ को डिसेम्बरमा कोर्पस अफ इन्जिनियर्समा भर्ती भएका थिए ।