काठमाडौं । छिरिङ बल गाउँका सँगैका साथीहरूजस्तै गोठालो जान्थे । खेल्ने, कुद्ने र पढ्ने फुर्तीफार्ती नै बेग्लै ।
सानैदेखि पढ्न रुचाउने उनी पारिवारिक कारणले विद्यालयको पढाइ पूरा गर्न सकेका थिएनन् । तर, 'खोजे देउता पनि भेटिन्छ' भनेझैँ उनले आफ्नो पढ्ने रहर पूरा गरेका छन् । पढाइ छुटेको बाह्र वर्षपछि खुला विद्यालयमार्फत रहर पूरा गर्दै शुक्रबारबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा उनी सामेल भएका छन् । उमेरले ३३ पार गरे पनि पढ्ने रहर पूरा गर्न पाउँदा उनी हौसिएका छन् ।
छिरिङ शारीरिक अपाङ्गताको कारणले हिँडडुल गर्न सक्दैनन् । अचानक दुवै खुट्टा चल्न छाडेपछि ह्विलचियरमा बसेर ओहोरदोहोर गर्नु उनको बाध्यता हो । संघीय राजधानीलगायत देशका ठुल्ठुला सहरका सडक र भवन अपाङ्गमैत्री नभएका बेला छिरिङ बस्ने मकवानपुरको गाउँका भवन र सडक ह्विलचियरमैत्री हुने कुरै भएन । अपाङ्गताका कारणले पछि उनले चाहेर पनि विद्यालय पढ्न जान सकेनन् ।
उनले २०५५ मा पाटन अस्पतालमा आएर खुट्टा देखाउँदा डाक्टरले खुट्टाको नशा सबै मरिसकेको बताए । डाक्टरले कतै दखाउँदा पनि ठिक नहुने बताएपछि उनको जीवन थप संघर्षमय बन्यो । त्यसबेला हिँड्डुल गर्न सके पनि गोडा असाध्यै दुख्थ्यो । त्यसपछि स्वरोजगार हुन उनले मोबाइल रिपेयरिङ गर्न सिके । अनि गाउँमै पसल थापेर बस्न थाले । त्यतिबेलासम्म पनि उनी पर्खालको आडमा पसलमा ओहोरदोहोर गर्न सक्थे । जब २०७२ मा विध्वंसकारी भुकम्प गयो, त्यसपछि छिरिङ हिँडडुल गर्न नसक्ने भए । उनलाई आवातजावत गर्न ह्विलचियर अनिवार्यजस्तै बन्यो ।
अनि छिरिङका लागि प्रविधि 'प्यान्डोरा बक्स' बनेर आइपुग्यो । गाउँकै दाइले खुला विद्यालयमा पढाउने उनले जानकारी पाएका थिए । तर, अनलाइनमा भने उपलब्ध थिएन । कोभिड १९ पछि मुलुकभरिको पठनपाठन सकी नसकी पनि 'अनलाइन मोड'मा परिणत भयो । उनले इन्टरनेटमा खोजे पछि गाउँका ती दाजुले पढाउने विद्यालयले पनि अनलाइन पढाउनेबारे जानकारी पाए । इन्टरनेटमार्फत नम्बर पत्ता लगाएर उनी पढ्न थाले ।
उनी भन्छन्, “अनलाइनमा पढ्न सजिलो छैन । कति विषय बुझिँदैन । भौतिक रूपमा शिक्षकलाई भनेको जस्तो अनलाइनमा भन्न कठिन नै हुुन्छ ।”
गणित र अंग्रेजी उनलाई गाह्रो लाग्छ । तर, दुई वर्षपछि भएको एसईईको पहिलो पेपर नै उनले अंग्रेजीको दिनुपर्यो । “अलि नर्भस त छु । तर ठिकै छ । पढेको कुरा दिमागमा कसरी बसाउन सकिन्छ भनेर बुझेर पढिरहेको छु । परीक्षामा सामेल अरू भाइबहिनीलाई पनि त्यही भन्न चाहन्छुु । बुझेर पढौँ,” छिरिङ भन्छन् ।
यस्तै, दक्षिणकाली चाल्नाँखेल बस्ने हरिबहादुर बुढाथोकी बोल्न र हात चलाउन सक्दैनन् । उनी गोडाको सहाराले लेख्छन् । परीक्षामा उनले अन्य विद्यार्थीभन्दा डेढ घण्टा बढी पाउनेछन् । जन्मजात शारीरिक अपाङ्गता भएका हरिबहादुर ३६ वर्षका भए । एसईई दिने सपनाले आफू शारीरिक रूपमा फरक क्षमताको भएको महसुस उनी गर्दैनन् । पढ्ने सपना पूरा गर्न उनी नियमति खुला विद्यालय धाउँथे । घरमा त्यत्तिकै बस्नुभन्दा आफ्नै खुट्टामा उभिने र क्याम्पस पढ्ने उनलाई रहर छ ।
मकवानपुरकै कुमार बल पनि खुला विद्यालयमा पढेर यसपालि एसईई परीक्षामा सहभागी छन् । कुमारको हात सानो र औँला पनि राम्ररी चल्दैन ।
यसरी हरिबहादुर, कुमार र छिरिङ तीनै जनाले दक्षिणकाली नगरपालिकामा अवस्थित शिखरापुर खुला विद्यालयबाट यसपालि एसईई दिँदैछन् । उनीहरूलाई नेपाल सरकारले तोकेको नियमअनुसार परीक्षा केन्द्रसँग समन्वय गरी परीक्षा दिने वातावरण मिलाइएको विद्यालयकी संयोजक ललिता लामिछानेले जानकारी दिइन् ।
शिखरापुरबाट परीक्षामा यी तीन अपाङ्गता भएका विद्यार्थीसहित ४२ विद्यार्थी सामेल छन् । जसमा १९ जना महिला र २६ जना पुरुष सहभागी छन् ।
शिक्षा आर्जन गर्न उमेरले छेक्दैन भन्ने कुरालाई प्रमाणित गर्न खुला विद्यालय सफल भएको संयोजक लामिछाने बताउँछिन् । उनले अपाङ्गता भएका विद्यार्थीलाई पढाउन चुनौती भएपनि उनीहरू एसईईमा उत्तीर्ण हुनेमा आशावादी छिन् । भन्छिन्, “उहाँहरूको पढ्ने रहर पूरा गर्न पाएका छौँ । परीक्षामा राम्रै गर्नुहोला भन्ने आशा छ ।”