काठमाडौं । सातौँ राष्ट्रिय कृषि गणना सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।
विभागकाअनुसार गत वैशाख ६ गतेबाट कृषि गणना कार्य सुरु भएको छ । जेठ मसान्तसम्म तथ्यांक संकलन गरिने विभागले जनाएको छ ।
कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले जानकारी दिए । उनले गत दुई वर्षयता कृषि गणनाको तयारी थालेको र वैशाख ६ गतेबाट कृषि गणना सुरु गरेको बताए ।
निर्देशक सुवेदीले काठमाडौं ललितपुर र भक्तपुरको हकमा शुक्रबारदेखि मात्रै गणना कार्य सुरु हुने जानकारी दिए । उनले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म गर्ने र असार मसान्तसम्म सम्पूर्ण संकलित फारमहरू केन्द्रमा ल्याइसक्ने पनि बताए ।
निर्देशक सुवेदीले अहिलेसम्म कृषि गणनाका लागि पाँच करोड खर्च भइसकेको र यस वर्ष गणनाको मुख्य समय भएकोले ७२ करोड खर्च हुने अनुमान गरिएको बताए । त्यस्तै अर्को वर्ष डेटा इन्ट्री, प्रकाशनका लागि लगभग करिब ९ करोड रुपैयाँ गरी कुल कृषि गणनाका लागि ८६ करोड रुपैयाँ खर्च हुनसक्ने आकलन गरिएको बताए ।
वि.सं. २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गर्ने गरिन्छ ।