पोर्ट ओ प्रिन्स । हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको व्यस्त सडकमा विमान दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । सडकमा रहेका थुप्रै मानिस घाइते भएका छन् ।
राजधानीबाट दक्षिण पूर्वी बन्दरगाह सहर जासमेल तर्फ उडेको सो विमान क्यार्रेफोरमा खसेको हो । जीवितै उद्धार गरिएकामध्ये एक विमान चालकको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि सरकारी अधिकारीहरूले विमानको इन्जिनमा खराबी आएको कारण दुर्घटना भएको बताएका छन् ।
हाइटीको नागरिक उड्डयन निकायले विमानस्थलबाट उडेको करिब २० मिनेटपछि विमानले केहि गडबड भएको संकेत दिएको जनाएको छ ।
प्रधानमन्त्री एरियल हेनरीले यस दुःखद घटनामा पिडित परिवारहरु समक्ष गहिरो समवेदना प्रकट गरेका छन् ।
चरम गरिबीसँग जुधिरहेको हाइटीले केही वर्ष यता थुप्रै दैवी प्रकोपको पनि सामना गर्दै आइरहेको छ । गत जुलाईमा राष्ट्रपति जोभनल मोइसको हत्यापछि त्यहाँ राजनीतिक अस्थिरता र सामूहिक हिंसात्मक घटना पनि बढ्दै गइरहेको छ ।
बीबीसीबाट ।