बीबीसी । दस वर्षमा पहिलोपटक नेट्फ्लिक्सले आफ्ना नियमित ग्राहकरू गुमाएको छ । यो वर्षको पहिलो तीन महिनामा कम्पनीले २ लाख बढी सदस्यहरू गुमाएको मंगलबार जानकारी दिएको छ ।
अमेरिका, बेलायतलगायतका प्रमुख बजारहरूमा सेवा शुल्क बढाएकाले र रुसबाट सेवा हटाएकाले नै ग्राहकमा ठुलो गिरावट आएको बताइएको छ । कम्पनीले आगामी दिनहरूमा अझ धेरै घाटाको सामना गर्नुपर्ने चेतावनी दिएको छ भने नयाँ सदस्यलाई ‘साइन–अप’ गराउनका लागि अकाउन्ट साटासाट गर्ने प्रवृत्तिमा पनि कडाइ अपनाउने संकेत दिएको छ ।
कम्पनीका सेयरहोल्डरहरूलाई पत्र लेख्दै नेट्फ्लिक्सले महामारीको समयमा जुन स्तरमा ग्राहकको सङ्ख्या बढेको थियो त्यसलाई कायम राख्न नसकिएको जनाएको हो । त्यस्तै यसले लगानीकर्ताहरूलाई जुलाईसम्ममा अर्को २० लाख ग्राहकहरूले अकाउन्ट छाड्न सक्ने चेतावनी पनि दिएको छ ।
चौमासिक आर्थिक नतिजा सम्बन्धी सार्वजानिक गरेको तथ्यांकमा भनिएको छ, “हाम्रो आम्दानी वृद्धिको दर विस्तारै तर निरन्तर घटिरहेको छ । अन्य प्रतिस्पर्धी र पासवर्ड साटासाट गर्ने ठुलो सङ्ख्याका घरेलु अकाउन्टहरूमा कडाइ अपनाउनाले यस्तो प्रभाव पारिरहेको छ ।”
तर अझै पनि विश्वव्यापी रूपमा नेट्फ्लिक्सका २२ करोड सस्क्राइबर छन् । रुसबाट बाहिँरिदा मात्र पनि नेट्फ्लिक्सलाई ७ लाख सस्क्राइबरको घाटा लगाएको थियो । त्यस्तै मूल्य वृद्धि गराएपछि अमेरिका र क्यानडाका थप ६ लाखले नेट्फ्लिक्स रद्द गराएको बताइएको छ ।
गत वर्ष यसै समयमा नेट्फ्लिक्सले ९.८ प्रतिशतको नाफा अर्थात ७.८ अर्ब भन्दा बढी कमाएको थियो । तर, यसपटक बजार विस्तारै घट्दै गएको र केवल ६ प्रतिशत, १.६ अर्ब डलरको नाफा भएको बताइएको छ । जापान र भारतमा ग्राहक बढेका कारण अहिले यत्तिको फाइदा कमाउन सकेको कम्पनीले बताएको छ ।
हाल नेट्फ्लिक्सले पासवर्ड साटेर एउटै अकाउन्ट चलाउनेहरूबीच विज्ञापन जारी गरेर आम्दानी बढाउनेबारे छलफल गरिरहेको छ ।
कम्पनीका प्रमुख रिड हेस्टिङ्सले भने, “नेट्फ्लिक्सलाई नजिकैबाट चिन्ने सबैलाई थाहा नै होला कि म विज्ञापन राख्ने विरुद्धमा रहँदै आएको छु र केबल सामान्य सब्सक्रिप्सनले कम्पनी चलाउन चाहन्छु । मेरो छनोट उपभोक्ताहरूकै छनोट हुनेछ । तर यो स्पष्ट छ कि एचबीओ र डिज्नी, विज्ञापनद्वारा समर्थित सेवामार्फात काम गरिरहेका छन् ।"