मस्को । विस्फोटको कारण बुधबार क्षतिग्रस्त भएको रुसको एउटा युद्धपोत समुद्रमा डुबेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । रुसको ब्ल्याक सीमा तैनाथ 'मोस्कभा' नामक युद्धपोत बन्दरगाहतर्फ ल्याइँदै गर्दा समुद्री तुफानमा परेर डुबेको बताइएको छ ।
पाँच सय १० जना चालक दल रहेको क्षेप्यास्त्र क्रुजर रुसी सैनिक शक्तिको प्रतीकको रूपमा थियो । यसलाई युक्रेनतर्फ जलीय आक्रमणका लागि प्रयोग गरिँदै गरेको थियो ।
किभले भने आफ्ना दुईवटा नेप्च्युन क्षेप्यास्त्र प्रहारबाट रुसी युद्धपोत ध्वस्त भएको दाबी गरेको थियो । तर, मस्कोले यसमाथि कुनै आक्रमण भएको तथ्य उल्लेख गरेको छैन । बरु आगलागीपछि क्षतिग्रस्त भएको जनाएको छ ।
रुले यसबारे भनेको छ, "आगलागिपछि युद्धपोतमा रहेको बारुद विस्फोट भएको हो । लगत्तै चालकदलका सम्पूर्ण सदस्यलाई ब्ल्याक सीमै रहेको अर्को जहाजमा पुर्याइएको थियो ।"
दोस्रो विश्वयुद्धयता समुद्रमा डुबेको यो रुसको सबैभन्दा ठुलो युद्धपोत हो । यसको वजन १२ हजार ४९० टन थियो । अमेरिकाले यो युद्धपोत डुब्नुलाई 'ठूलो झट्का'को संज्ञा दिए पनि यसका लागि नेप्च्युन क्षेप्यास्त्र जिम्मेवार रहेको भन्ने युक्रेनी दाबी पुष्टि गर्न सकेको छैन ।
बीबीसीबाट ।