site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवादै विवादमा बितेको नेपाली सेनाको वर्ष २०७८
SkywellSkywell

काठमाडौं । वर्ष ०७८ नेपालका लागि राजनीतिक अस्थिरता र अन्योलताको वर्ष रह्यो । जहाँ संसद्देखि न्यायालयसम्म अस्थिर बने । देशको एक मात्र स्थिर शक्ति केन्द्रको रूपमा चिनिने नेपाली सेना गत वर्षझैँ यसपालि पनि विवादमुक्त रहन सकेन । 

सबै कोणबाट हेर्दा नेपाली सेनाको २०७८ विवादास्पद रह्यो । फास्टट्रयाक निर्माणको अनियमिततादेखि सैनिक कुटपिटसम्म, विवादयुक्त सहायक रथीको बढुवादेखि सैनिक हत्याका विषयले वर्षैभरि सेना चर्चामा रह्यो । त्यसो त शव व्यवस्थापनदेखि सफा हिमाल अभियान र प्रधानसेनापतिको भारत भ्रमणले सेनाको कद उँचो पनि बनाएको छ । 

४३औँ प्रधानसेनापतिको रूपमा नियुक्त भएका पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल ०७८ भदौ २४ मा समाप्त भएको थियो । कार्यकाल सकिनुअघि उनले सैनिक रणनीति ‘तीन जोर एक कमान्ड’ लागु गरे । साउन १ बाट औपचारिक रूपमा कार्यान्वयनमा आएको उक्त कमान्डअघि सेनामा ८ वटा पृतना हेडक्वाटरको अवधारणा थियो । त्यसलाई खारेज गरेर ४ वटा कमान्डहरूमा स्तरोन्नति गरी संचार–प्रविधि, मेडिकल, बन्दोबस्ती, इन्जिनियरिङ इत्यादिलाई आधार मानी संरचना बनाइयो । यसलाई सेनामा युगान्तकारी निर्णयका रूपमा व्याख्या गरिएको छ । 

KFC Island Ad
NIC Asia

गएको भदौ २४ बाट लागु हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिन् । नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन समयमा नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी शर्मा प्रधानसेनापतिमा नियुक्त भए । सेनामा क्षेत्री र जनजाति समुदायको दबदबा रहेकोमा शर्मा ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्ने पहिलो व्यक्ति बने ।

फास्ट ट्रयाकमा अनियमितता
गत वषैदखि नै निरन्तरता पाएको सेनाभित्र अनियमितताको श्रृंखला यस वर्ष पनि यथावत नै रह्यो । वर्षको सुरुमै वैशाख १५ मा संसद्को सार्वजनिक लेखा समितिले नेपाली सेनालाई नै पत्र काटेर काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) बनाउन दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दियो । 

यसअघि लेखा समितिले तीनपटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्रयाकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो । गत वर्ष चैतमा फास्ट ट्रयाकको ठेकेदार छनोटबारे सेनालाई लेखा समितिले बोलाएर ९ प्रश्न सोधेको थियो ।

मकवानपुरको धोद्रेमा र लेनडाँडामा गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए । तर सेनाले चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई मात्र ‘प्रि–क्वालिफाइड’ ठहर गरेको थियो । उक्त अनियमिततामा सेनाले अझैसम्म चित्त बुझ्दो जवाफ नदिएको लेखा समितिको भनाइ छ ।

यस्तै, सेनाले फास्ट ट्रयाक निर्माण २०८०/०८१ मा सम्पन्न गर्ने भने पनि अहिलेसम्म १६ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यता लक्ष्यअनुसार काम गर्न सेनालाई प्रतिवर्ष ४० अर्बको हाराहारीमा बजेट चाहिन्छ भने फास्ट ट्रयाकको जिरो प्वाइन्ट मानिने खोकनामा जग्गा विवाद यथावत छ ।

होल्डिङ सेन्टर अझै निर्माण सम्पन्न भएन
कोभिड १९ को उत्सर्गमा तत्कालीन केपी शर्मा ओली सरकारको पालामा ०७८ वैशाख ५ मा होल्डिङ सेन्टर बनाउने निर्णय भएको थियो । बहुउपयोगी संरचनामा बनाउने भनिएको सेन्टर मन्त्रिपरिषद्ले १३ वैशाखमा बल्ल तोकिएका ८ नाका र उपत्यका प्रवेश गर्ने थानकोटमा एक–एक हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दिएको थियो ।

नेपाल–भारत सीमा प्रवेश बिन्दुमा प्रत्येक ८ नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको वेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा होल्डिङ बनाउने जिम्मा सेनाले पाएको थियो । सेनाले भदौमा नै सकाउने भनेको होल्डिङ सेन्टर अहिलेसम्मपूर्ण रूपमा सम्पन्न भएको छैन । यता रूपन्देहीको वेलहियाम बनाउने भनिएको सेन्टरसमयमै जग्गा नपाउदा सेनाले पुसमा ठेक्का रद्द गरेको छ ।

यस्तै, बाह्र वर्ष बितिसक्दा पनि सेनाको बंकरलाई ब्यारेक बनाउने कामले अझै पूर्णता पाउन सकेको छैन । २०५८–०६२ को संकटकालमा मुलुकको सुरक्षार्थ तैनाथ सेना बंकरमा बस्न बाध्य भएपछि बंकरदेखि ब्यारेकको अवधारणा सुरु भएको थियो । ५ हजार ८५० बंकरलाई ब्यारेक बनाउनुपर्नेमा हालसम्म ३ हजार ३६६ मात्र ब्यारेकमा परिणत भएका छन् । यस आर्थिक वर्षमा ९३ वटालाई ब्यारेक बनाइँदैछ । 

दुई निर्दोष सैनिक रिहा
साना घटनाले पनि तरंग ल्याउने सेनामा दुई निर्दोष सैनिकमाथि भएको ज्यादतीले यस वर्ष सेनाको निष्ठामाथि नै प्रश्न उठेको छ । हतियार चोरीको आरोपमा साढे दुई वर्षदेखि जेल जीवन बिताइरहेका अमल्दार लबकुमार गुरुङ र जवान सरोज तामाङ अदालतले निर्दोष ठहर गरेपछि भदौ १८ मा रिहा भए ।

चितवनको कालीबहादुर गणबाट हराएको एसएमजी हतियार चोरी गरेको आरोपमा समरी जनरल सैनिक अदालत, मुकाम कालीबहादुर गण भरतपुरले २०७५ चैत १८ गतेबाट गणना हुने गरेर गुरुङलाई १० वर्ष र तामाङलाई सात वर्ष कैद सजाय तोकेको थियो ।

दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी सैनिक जवान भरत गुरुङको हत्याका आरोपी भरतपुर–२१ का गंगाधर ढकालको साथबाट बरामद भएपछि बल्ल सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो । 

यूएन मिसनमा सैनिक कुटपिट
भरतपुरको घटना नसेलाउदै शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि कुटपिट गरिएको निलडामसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सेना अर्को विवादमा मुछियो । 

असोज ८ मा कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेको तथ्य बाहिर आयो । त्यसपछि सैनिक मुख्यालय जंगी अड्डाले ज्येष्ठ मेजर (सेनानी) को नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ बनायो । त्यसले दिएको प्रतिवेदनअनुसार सैनिक अदालतले कुटपिटमा संलग्न तीन अधिकृतलाई एक वर्ष बढुवा रोक्का हुने फैसला सुनायो ।

अदालतले अन्य जवानले पनि मादक पदार्थ सेवन गरी माथिल्लो अधिकृतको आदेश अवज्ञा गरेको निष्कर्ष निकाल्दै प्रकरणमा संलग्न ९ जनामध्ये केहीलाई नसियत पनि दियो । घटनाबारे मिडियामा सूचना चुहाउने सैनिकमाथि शंकाको भरमा सेनाले कार्बाही समेत गर्‍यो । यस घटनाबारे बाह्रखरीले तत्कालीन सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडलसँग जिज्ञासा राख्दा सेनामा सैनिकलाई अनुशासनमा राख्न 'चेन अफ कमान्डुको पालना गराउनै पर्ने घुमाउरो तर्क गरेका थिए । 

राजेश शाही सेनाको मेडिकल कलेजको होस्टेलबाटै बेपत्ता
काठमाडौंको सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस चौँथो सेमेस्टरमा अध्ययन गरिहेका २५ वर्षीय राजेश शाही भदौ १७ गतेदेखि होस्टेलबाट बेपत्ता भए । भूतपूर्व सैनिक दानबहादुर शाहीका छोरा राजेश मेडिकल कलेजको होस्टेलबाटै बेपत्ता र उक्त सूचना सेना र प्रहरीले गुपचुप नै राख्नु र जंगी अड्डाको मौनताले घटना शंकास्पद हुन पुग्यो । 

छोरा बेपत्ता भएपछि बुबा दानबहादुर प्रहरीदेखि सेनाको शरणसम्म पुगिसके । प्रधानसेनापतिसम्मलाई निवेदन दिइसकेपछि पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन । परिवारले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ । 

विवादित सहायकरथी अरूण कुमार न्यौपानेलाई बढुवा
नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा विवादित सहायकरथी अरूण कुमार न्यौपानेको बढुवा भयो । उनी सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देश बने । विवादित छवि हुँदाहुुँदै पनि सरकारले पुस १ मा न्यौपानेलाई प्राविधिक उपरथी दर्जामा पदोन्नति गरेको थियो । बाह्रखरीले न्यौपानेको नक्कली नागरिकता र प्रमाणपत्र राखी समाचार समेत प्रकाशित गरेको थियो ।

न्यौपाने विवादमा आउनुको प्रमुख कारण नागरिकताको प्रमाणपत्रमा विवाद, भारतको चण्डीगढमा पढेको प्रि–मेडिकलको प्रमाणपत्रमा विवाद हुनु, नेपाल मेडिकल काउन्सिलमा शैक्षिक रेकर्ड नहुनु, पदमा रहँदा अनुशासनहिनताको आन्तरिक विवादमा पर्नु र कलेजमा एमबीबीएस अध्ययन गर्दै गरेका शाही महिनानौँदेखि गायब हुनु आदि रहेका थिए । 

राजनीतिक अस्थिरता
वर्षको सुरुवातमै राजनीतिक अस्थिरताले शेरबहादुर देउवालाई असार २९ मा पाचौँपटक प्रधानमन्त्री बनायो । त्यसपछि नयाँ रक्षामन्त्रीमा डा. मिनेन्द्र रिजाल नियुक्त भए । तर, कांग्रेसको महाधिवेशनमा हारेपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिए । त्यसपछि रक्षा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका छन् । गत वर्ष पहिलोपटक रक्षा मन्त्रालयले बनाएको राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ पारित भयो । तर, अहिलेसम्म सार्वजनिक गरिएको छैन । 

प्रधानसेनापति शर्माको भारत भ्रमण अर्थपूर्ण 
भारतका सेनाध्यक्ष एमएम नरवाणेको निमन्त्रणामा प्रधानसेनापति शर्माले कात्तिक २३–२६ सम्म भारतको औपचारिक भ्रमण गरे । उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित गरेका थिए । नयाँ दिल्ली भ्रमणका क्रममा उनले रक्षासचिव अजय कुमार, तत्कालीन चिफ अफ डिफेन्स स्टाफ स्वर्गीय जनरल विपीन रावत र वायु सेनाध्यक्ष एयर चिफ मार्सल भिआर चौधरीलगायतसँग भेटवार्ता गरेका थिए ।

चीन र भारतबीच उत्पन्न तनाव र त्यसमा नेपालको भूमिकाको अर्थबारे भारतमा चिन्ता र चासो देखिएका बेला प्रधानसेनापति शर्माको भ्रमणलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको थियो । गत वर्ष भारतीय सेनाका प्रमुख एम एम नरवाणे यही परम्पराको औपचारिकता पूरा गर्न नेपाल आउँदा उनको एक अभिव्यक्तिका कारण दुई देशको सम्बन्धसँगै सेनाबीच पनि केही असमझदारी उत्पन्न भएको थियो । 

यस्तै, प्रधानसेनापतिका रूपमा सेनाको नेतृत्व सम्हालेको पाँच साता पुग्दा शर्माले एक वर्ष अध्ययन गरेको भारतको राष्ट्रिय रक्षा महाविद्यालयको एउटा प्रतिनिधिमण्डल अध्ययन भ्रमणका लागि नेपाल आएको थियो ।

भारतीय सेनाका रियर एड्मिरल धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली कात्तिक ६ गतेसम्म नेपाल भ्रमणमा थियो ।

ध्रुवे आक्रमणमा परी सैनिकको मृत्यु
केही वर्षदेखि शान्त देखिएको हिंसक जंगली हात्ती 'ध्रुवे'को आक्रमणबाट अमल्दार गुप्तबहादुर थापाको मृत्यु भयो । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोस्टमा साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । विगतमा ध्रुवेको आक्रमणबाट मात्रै १५ जनाको ज्यान गइसक्यो । 

शान्ति मिसनमा वीरगति प्राप्त
कंगोको विद्रोही समूह मिलिसियाको आक्रमणबाट सेनाका जवान सुर्खेत अनिल गुरुङको गत साता ज्यान गयो । संयुक्त राष्ट्रसंघ (यूएन) को आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ शान्ति सेनाको पहिलो डप्फामा कार्यरत गुरुङको पार्थिव शरीरलाई बुधबार सेनाले श्रद्धाञ्जली तथा अन्तिम सम्मान दिएको थियो । गुरुङसहित अहिलेसम्म नेपाली सेनाका ६९ सुरक्षाकर्मीले यूएनको शान्ति मिसनमा खटिएकै बेला ज्यान गुमाइसकेका छन् । 

शान्ति मिसनमा दोस्रो स्थानमा 
यस वर्ष नेपाल युएनको शान्ति स्थापना कार्यमा योगदान गर्ने राष्ट्रको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि नेपाल चौँथो स्थानबाट तेस्रो स्थानमा उक्लिएको थियो । 

राष्ट्रसंघीय शान्ति मिसनमा मुख्यतः नेपाली सेना परिचालित भए पनि केही संख्यामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी पनि सहभागी छन् । सन् १९५८ देखि विभिन्न ४३ द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपालले सेना पठाउँदै आएको छ ।

हालसम्म एक लाख ३५ हजार ३९९ जनाले शान्ति मिसनमा भाग लिएको तथ्यांक छ । सबैभन्दा पहिले सन् १९७४ मा गोरखा बटालियन द्वन्द्वग्रस्त देश इजिप्टमा तैनाथ भएको थियो । 

हाल १२ वटा मिसनमा ५ हजार ४४७ सैनिक तैनाथ छन् । तीमध्ये २ सय १४ महिला सैनिक सहभागी छन् । शान्ति मिसनमा योगदान गर्नेमा नेपालभन्दा अगाडि अब बंगलादेश मात्र छ ।

घर बनाउन सहुलियत कर्जा 
प्रधानसेनापति शर्माले पहिलोपटक सम्बोधन गर्दै नीति तथा कार्यक्रममा सैनिक जवानलाई घर बनाउन २५ लाख कर्जा दिने घोषणा गरे । सैनिक कल्याणकारी कोषले दस वर्ष नोकरी पुगीसकेका र १० वर्षभन्दामाथि नोकरी पुगिसकेका सेनाका सबै सेवारत जवानहरूले घर बनाउन सहुलियत कर्जा यसैवर्षदेखि दिन सुरु गरेको हो ।

बख्तरबन्द गाडी चलाउने पहिलो महिला सैनिक
यस वर्ष केही सुखद घटनामा सेनामा सैनिक सवारी चालकको रूपमा कार्यरत प्यूठ असीम बानियाँ प्रथम महिला सैनिक बख्तरबन्द सवारी (एपीसी) चालक भइन् । असीम यूएनको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्का मिसनमा पहिलो महिला एपीसी चालकको रूपमा समेत छनोट भएकी थिइन् ।

सफा हिमाल अभियानमा सेना
हिमाल सफा गर्न जिम्मा पाएको सेनाले निर्धारित लक्ष्यअनुरूप फोहोर संकलन गर्न गन्तव्यतर्फ प्रस्थान गरिसकेको छ । सेनाले ४ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । तर, बजेट अभावले उक्त योजना पूरा हुन केही कठिन छ ।

सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरू ल्होत्से, कञ्चनजंघा र मनास्लुको सफाइ गर्ने योजना बनाएको छ । सफा हिमाल अभियानको तेस्रो संस्करण सुरु हुँदा लक्ष्यअनुरूप काम गर्न सेनालाई करिब ४ करोड रूपैयाँ अपुग हुने छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro