काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस अहिले चुनावी घोषणापत्र लेखनमा व्यस्त छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको २८ सदस्यीय घोषणापत्र लेखन समितिले अहिले काम गरिरहेको छ । उसले लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने निर्णय बिहीबार बसेको समितिको बैठकले गरिसकेको छ ।
घोषणापत्र लेखन समितिले सामाजिक सञ्जाल, टोली फ्रि नम्बरलगायतबाट समेत जनताको सुझाव समेटेर घोषणा पत्र निर्माण गर्ने घोषणापत्र लेखन समिति सदस्य किरण गिरीले जानकारी दिए ।
सुझाव संकलनका लागि समितिले विभिन्न व्यक्तिहरुलाई जिम्मेबारी समेत दिएको छ । जसमा घोषणा पत्र मूल मस्यौदाकार समितिमा संयोजक थापासहित केन्द्रीय सदस्य मधु आचार्यलगायत रहेका छन् । यस्तै सामाजिक सञ्जाल सूचना सम्पर्क र समन्वयको जिम्मा किरण गिरी र मनिष झालगायतले पाएका छन् भने स्थानीय तह आवश्यकता अध्ययन र आकांक्षा सम्बोधन गर्ने जिम्मा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी तथा समिति सदस्य भिम ढुंगानाले पाएका छन् ।
“वैशाखको ३ वा ४ गते प्राइमरी ड्राफ्ट फाइनल भइसक्छ । हामीले पार्टीको अघिल्लो घोषण पत्र, अन्य राजनीतिक पार्टीहरुको घोषणापत्र तथा अन्तर्राष्ट्रिय अभ्यासहरूलाई पनि अध्ययन र विश्लेषण गर्ने काम गरेका छौँ,” गिरीले भने ।
घोषणापत्र समितिले विषयगत विज्ञ, भ्रातृ तथा शुभेच्छुक संस्था, स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका प्रमुखलगायतका सम्बन्धित निकायसँग छलफल गर्ने बिहीबारको बैठकमै निर्णय गरेको थियो ।
“शिक्षा, स्वास्थ्य, उत्पादन, रोजगारी, कृषिलगायत विषयहरूमा विषयगत विज्ञता हासिल गरेका व्यक्तिहरूसँग बसेर उनीहरूको राय लिने र त्यसलाई अध्ययन गरेर घोषणापत्र वैशाख ११ मा सार्वजनिक गर्ने हाम्रो तयारी हो,” केन्द्रीय सदस्य शिवाकोटीले भने ।
शिवाकोटीका अनुसार यसपटको घोषणापत्रमा तत्कालका लागि असम्भव मानिने मुद्दाहरू समेटिने छैन । साथै, उमेदवारहरूले आफैले आफैलाई नम्बर दिने मापदण्ड बनाएर पार्टीले उमेदवारहरुको अडिट गर्नेछ भने अडिटमा फेल भएका उमेदवारलाई अर्को पटकको प्रतिष्पर्धामा भाग लिने नपाउने व्यवस्था गर्न लागिएको छ ।
शिवकाटोलीले संकलन भएको सुझावहरूबाट घोषणापत्र लेख्ने तथा यसलाई ग्राफिकल्ली प्रस्तुत गर्ने समितिको तयारी छ । यस्तै घोषणापत्र लेखेर छाड्ने मात्र होइन यसलाई प्रत्येक वर्ष कार्यान्वयनको अवस्थाको बारेमा पनि अध्ययन गर्नेगरि कांग्रेस अघि बढ्ने उनले बताए ।
फर्केर हेर्दा नेपाली कांग्रेसको २०७४ को घोषणापत्र
कांग्रेसले २०७४ सालमा भएको स्थानीय तह निर्वाचनका लागि ५१ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको थियो । जसमा तीन खण्डका रहेका थिए । घोषणापत्रको तेस्रो खण्ड ‘स्थानीय सरकार र हाम्रो संकल्प’ मा कांग्रेसले आफूले पालिका तहमा जिते काम गर्ने संकल्पहरू सार्वजनिक गरेको थियो ।
घोषणापत्रमा कांग्रेसले आर्थिक समृद्धिको संकल्प, सामाजिक प्रगतिको संकल्प, पूर्वाधार विस्तारको संकल्प गरेको थियो । यस्तै वन–वातावरण संरक्षणको संकल्प र सुशासन प्रत्याभूतिको संकल्पलाई पनि कांग्रेसले अगाडि सारेको थियो ।
२५ बुँदामा कांग्रेसले प्रत्येक गाउँपालिकामा प्रसूति सेवासहितको कम्तिमा १५ शैयाको स्तरीय अस्पताल, निःशुल्क माध्यमिक विद्यालय, सीपमूलक प्राविधिक विद्यालय र शिशु विकास केन्द्र, हातहातमा स्मार्ट फोन, वाइफाइ इन्टरनेट र पुस्तकालयसहितको सामुदायिक स्रोत केन्द्र, आस्थाअनुसारको मठ मन्दिर, प्राथनागृहको निर्माण गर्ने लेखेको थियो । यस्तै जल, जमिन, जंगल, जडिवुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यता साथ स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा समूदायलाई सहभागि गराउने, मिर्गौला प्रत्यारोपणलाई थप सहज बनाउँदै निःशुल्क डायलासिसलाई स्थानीय तहसम्म विस्तार गर्ने, महिलाको पाठेघरको मुखको क्यान्सर, सुत्केरी आमा : पोसिलो खाना भन्ने नाराका साथ सुत्केरीलाई २ वर्षसम्म पोषण कुपोषण वितरण गर्ने पनि कांग्रेसको घोषणा गरेको थियो ।
२५+२५+५० नीति नारामा सीमित !
कांग्रेसले आर्थिक समृद्धिको संकल्प भन्दै प्रतिवर्ष ३ देखि ५ लाख जनतालाई रोजगारी उपलव्ध गराउने घोषणापत्रमा लेखेको थियो । यस्तै, १० वर्षभित्र मध्य आययुक्त देश बनाउने, ऊर्जा तथा भौतिक पूर्वाधारमा ठूलो फड्को मार्ने भनेको थियो । यस्तै युवा उद्यम चुनौती कोषको कार्यान्वयनबाट स्वरोजगार प्रवद्र्धन गर्ने घोषणापत्रमा लेखेको थियो ।
“नवीन सोचसहितको युवा जाँगर र उद्यमशिलता प्रयोग गर्न १६–४५ वर्षसम्मका युवाहरूलाई लक्षित २५+२५+५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याइनेछ,” घोषणापत्रको पृष्ठ २४ मा लेखिएको छ,“यो वित्तीय लगानी कार्यक्रममा २५ प्रतिशत अंश युवा उद्यमीको आफ्नै लगानी, २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियतपूर्ण ऋण सायहता रहनेछ।”
घोषणपत्रमार्फत कांग्रेसले जल, जमिन, जंगल, जडिवुटी र जलाधार : स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यता साथ स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा समूदायलाई सहभागि गराउने पनि लेखेको थियो ।
स्थानीय तहका कृषकहरूलाई सुलभ ऋणको व्यवस्था स्थानीय सरकारले मिलाउने, जितेका स्थानीय तहमा बाह्रै महिना सिंचाइ सुविधा विस्तार गर्ने, कृषिबाली एवं पशुधन बिमा कार्यक्रम, किसान क्लबको गठन जस्ता विषयलाई समेटिएको थियो ।
घोषणापत्रमा कांग्रेसले फ्लाइओभर, टनेल मार्ग र आकाशे पूल निर्माण र मोनो रेलको निर्माणद्वारा ट्राफिक जामको अन्त्य गर्ने, पर्यटन विकासका लागि लागि होमस्टे, साना लज तथा सामुदायिक आवास व्यवस्थापनका लागि सहुलियतपूर्ण ऋणको व्यवस्थापन, स्थानीय पूर्वाधारले नपुगेको ठाउँमा एउटा पर्यटन स्थलको विकास गर्न लगानी भित्र्याउने जस्ता विषयहरू घोषणापत्रको २७ नम्बर पेजमा अटाइएको छ ।
खै प्रत्येक गाउँपालिकामा प्रसुति सेवासहितको १५ शैयाको अस्पताल ?
पार्टीले घोषणपत्रमार्फत १० वर्षमा भोकमरी र कुपोषण अन्त्य गर्ने तथा निरपेक्ष गरिबीलाई ३ प्रतिशत भन्दा कममा पु¥याउने लक्ष्य रोखको थियो । आफूले जितेको स्थानीय तहमा ५ वर्षभित्र १५ देखि २४ वर्ष उमेरसमूहको साक्षरता प्रतिशत शतप्रतिशत पुर्याउने घोषणापत्रको पृष्ठ ३० मा लेखिएको छ । यस्तै शिक्षामा लैगिंक समनता ल्याउने, श्रम जीविहरुलाई मर्यादित रोजगारी, सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने , पानीजन्य रोगहरुबबाट मर्न नदिने गरि संरचना बनाउने अठोट घोषणापत्रमार्फत कांग्रेसले गरेको थियो ।
“१२ कक्षाको अन्तिम परीक्षामा सहभागि भएकाहरूलाई तरुण सीपवृत्ति योजना अन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराईनेछ,” घोषणपत्रको पृष्ठ ३१ मा लेखिएको छ,“प्रत्येक गाउँपालिका र नगरापलिकामा रोजगारमूलक तथा स्व–उद्यम प्रवद्र्धन गर्ने प्राविधिक एवं सीप सिकाई शिक्षालयको व्यवस्था गरी युवालाई रोजगारमुखी सीपमुलक तालिम दिइनेछ।”
शिक्षामा कांग्रेसले एक वार्डमा एक–लाइव्रेरी र एक वार्ड–एक योगा तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापना गर्ने लेखेको थियो । यस्तै एक टोल–एक शिशु विकास केन्द्र कार्यक्रम पनि कांग्रेसले लेखेको थियो । तर, यो अभियान लेखनमै सीमित भयो ।
घोषणापत्रको पृष्ठ नम्बर ३२ मा कांग्रेसले सबैलाई भरपर्दो, स्तरीय र सुलभ स्वास्थ्य सेवा भन्ने लक्ष्यका साथ अकालनमा नागरिकले ज्यान गुमाउने अवस्थामा आउन नदिने लेखिएको छ । हरेक गाउँपालिकामा प्रसुती सेवा सहितको कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने र सबै स्थानीय तहमा आवश्यक्ता अनुसार २५ देखि ५० शैयाको अस्वताल निर्माण गर्ने घोषणापत्रको सोही पृष्ठमा लेखिएको छ । यस्तै, मृगौला प्रत्यारोपणलाई थप सहज बनाउँदै निःशुल्क डायलेसिसलाई स्थानीय तहसम्म विस्तार गर्ने, महिलाको पाठेघरको मुखको क्यान्सर, सत्केरी आमा : पोसिलो खाना भन्ने नाराका साथ सुत्केरीलाई २ वर्षसम्म पोषण कुपोषण वितरण गर्ने पनि कांग्रेसको घोषणा गरेको थियो ।
“प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्ने गरि कार्यक्रम सञ्चालन गरिनेछ,”घोषणापत्रको ३४ नम्बर पृष्ठमा लेखिएको छ,“एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने र आश्रममा ज्येष्ठ नागरिकलाई आवास, भोजन, स्वास्थ्य, अध्यात्मिक सत्संग, मनोरञ्जन र भ्रमण लगायतका सबै सेवा निशुल्क उपलव्ध गराइनेछ।”
कहाँ बन्यो स्मार्ट सहर ?
कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचन घोषणा पत्रमा स्मार्ट सहर बनाउने लक्ष्य राखेको थियो । यस्तै ठूला सहरहरुमा मास र्यापिड ट्रान्जिटको अवधारणा अन्तर्गत सुविधासम्पन्न बसहरुका लागि छुट्टै लेनको व्यवस्था गर्ने, अपाङ्गमैत्री सार्वजनिक यातायात, पैदल मार्ग र हरित साइकल लेनहरुको व्यवस्था गर्ने लेखेको थियो । तर, ललितपूर महानगरमा साइकल लेन बन्न बाहेक ठूला सहर काठमाडौं, ललितपुरको अवस्थानै भद्रगोल छ । जसले कांग्रेसको स्मार्ट सिटी अवधारणालाई गिज्याएको छ ।
घोषणापत्रको पृष्ठ ३७ मा गाउँ–नगर वनको अवधारणालाई कार्यान्वयन गर्न एक घर–एक रूख, एक गाउँ–एक वन तथा एक नगर–अनेक उद्यान कार्यक्रम लागू गर्ने लेखिए पनि उक्त कार्यक्रम पृष्ठ ३७ मै सीमित भएको छ । पूर्वाधार विकास अन्र्गत हिमाली क्षेत्रमा पूर्वाधार विकास गर्न ग्रेट हिमालयन ट्रेल जस्ता पपर्यटन पूर्वाधार विकास कार्यक्रम अघि बढाउने, पहाडी क्षेत्रको पूर्वाधार विकासका लागि स्थानीय सरकारले सडक निर्माण, जलविद्युत उत्पादन, सिचाइको सुविधालाई प्राथामिकता दिने तथा तराई–मधेश क्षेत्र पूर्वाधार विकासमा सीमावर्ती विशेष आर्थिक क्षेत्रको स्थापनालाई प्राथामिकता दिँदै जमिनको उत्पादकत्व वृद्धि गर्न सिचाई सेवा विस्तार गर्ने भनिएको थियो । तर, अहिले पनि जनता आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।
सारांशमा कांग्रेसले २५ बुँदामा आफ्नो परिकल्पनाको स्थानीय सरकार बारे पृष्ठ ४९ मा लेखेको छ । जुन् यस्ता छन् :–
१) स्तरीय निःशुल्क माध्यमिक विद्यालय, सीपमूलक प्राविधिक विद्यालय र शिशु विकास केन्द्र
२) प्रसूति सेवा सहितको कम्तिमा १५ शैयाको स्तरीय अस्पताल
३) सबै वडा र टोल जोड्ने पक्की सडक
४) एउटा बैंक वा वित्तिय संस्था र १६ वर्षभन्दा माथि सबैको बैंक खाता
५) उज्यालो बस्ती, घरघरमा स्वच्छ ऊर्जा
६) घरघरमा धारा, शौचालय र फोहोर व्यवस्थापन
७) ज्येष्ठ नागरिकहरूको लागि एकिकृत सेवा आश्रम र जीवनको मर्यादिन उत्तारार्ध
८) बालउद्यान, पार्क, खुला हरित स्थान, खेलकुद हल, मैदान र वार्षिक प्रतियोगिताहरू
९) अपाङ्गमैत्री सार्वजनिक पूर्वाधार
१०) कृषि, पशु सेवा,खानेपानी,सिंचाइ, पर्यटन, उद्योग व्यापरका लागि एकद्वार एकिकृत सेवा केन्द्र
११) स्थानीय कला, संस्कृति र संगीतसँग सम्बन्धित संग्राहलय, ग्यालरी र थिएटर
१२) निजी क्षेत्रका उद्यमीहरूको उन्नति र सामुदायिक उत्तरदायित्वको आकारमा विस्तार
१३) हातहातमा स्मार्ट फोन, वाइफाइ इन्टरनेटर पुस्तकालय सहितको सामुदायिक स्रोत केन्द्र
१४) आस्था अनुसारको मठ मन्दिर, प्राथना गृह
१५) स्थानीय सांस्कृतिक, धार्मिक, ऐतिहासीक सम्पादनको संरक्षण र प्रवद्र्धन
१६) व्यवस्थित थोक तथा खुद्रा बजार, फराकिला चोक, डवली र चौबाटाहरू
१७) एफएम रेडियो, डिजिटल टिभी र स्तरीय पत्रपत्रिकासम्मको पहुँच
१८) प्रदुषणरहित खोला–नाला, हराभरा वन–जंगल र स्वच्छ वातावरण
१९) युवा, किसान,महिला क्लवहरू
२०) कम्तिमा एउटा सुरक्षा पोष्ट
२१) पायक पर्ने क्षेत्रमा एउटा वारूण यन्त्र र एउटा एम्वुलेन्स
२२) विपद्का बेला सुरक्षित रहन सकिने सेल्टर र सार्वजनिक भवन, एउटा हेलिप्याड
२३) साना तथा घरेलु उद्योग, कृषि तथा खनिज प्रशोधन र पर्यटन केन्द्रहरू स्थापना
२४) सबै नागरिक मर्यादित पेशा र व्यवसायमा संलग्न, सामाजिक र राजनीतिक क्रियाकलापमा सक्रिय
२५) जनउत्तरदायी, भ्रष्टचारमुक्त स्थानीय प्रशासन