काठमाडौं । सरकारले चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइसक्ने लक्ष्य राखेको छ । निर्वाचन आयोगले पनि आगामी वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप दिइसक्न सरकारलाई अनुरोध गरेको छ । तर, पछिल्लो समय खोपको गति सुस्ताएको छ । १८ वर्ष माथिका १२ लाख ५० हजार नागरिकले कुनै पनि डोज खोप पाएका छैनन् । ५ देखि ११ वर्षसम्मका करिब ४० लाख बालबालिका खोप आउने पर्खाइमा छन् । यता, सरकारसँग मौज्दात रहेको १६ लाख बढी डोज कोभिड–१९ विरुद्धको खोप म्याद गुज्रिने अवस्थामा पुगेको छ ।
१५ लाखभन्दा बढी नागरिक खोप लिन बाँकी, बालबालिकालाई आएन खोप
नेपालमा २०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४ नागरिकमध्ये हालसम्म ९३.७ प्रतिशत नागरिकले पहिलो डोज र ८२.८ प्रतिशतले दुई डोज खोप लगाएका छन् । १२ देखि १७ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ किशोरकिशोरीमध्ये ९२ प्रतिशतले पहिलो डोज खोप लगाए पनि दोस्रो डोज भने ७४ प्रतिशतले मात्रै लगाएका छन् ।
५ देखि ११ वर्षका करिब ४० लाख बालबालिकालाई दिन ८४ लाख डोज फाइजर खोप ल्याउने भनिए पनि यसको प्रक्रिया टुंगिएको छैन । १२ वर्षमाथिका १५ लाख र ११ वर्ष मुनिका ४० लाख बालबालिका गरी अझै करिब ५५ लाख नागरिक कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी छन् ।
साढे १६ लाख डोज खोप म्याद गुज्रिने अवस्थामा
नेपालमा हालसम्म खरिद र अनुदानको गरी सरकारको लक्ष्यअनुसार ४ करोड ७८ लाख ८२ हजार ८०० डोज कोभिड–१९ विरुद्धको खोप भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । योमध्ये अहिले देशभरका भण्डारण केन्द्रहरुमा करिब १ करोड डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागअन्तरगत आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । खोपको मौज्दात बढेपछि अहिले भण्डारणमा रहेको खोप प्रयोग नभएसम्म थप खोप नल्याइने पनि उनले बताए । अहिले मौज्दात रहेको १ कारोडमध्ये १६ लाख ५७ हजार डोज एष्ट्राजेनेका खोपको यही अप्रिल ३० मा म्याद सकिने शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले बताए । नेपालालाई सो खोप विभिन्न मुलुकले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएका थिए ।
वर्ष सकियो तर सबैले खोप लगाएनन्
शेरबहादुर देउवाको नेत्त्वमा सरकार बनेपछि पहिलो प्राथमिकतामा परेको थियो लक्षित सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप । सोही प्राथमिकताअनुसार चैत मसान्तसम्म लक्षित नागरिकलाई खोप दिइसक्ने प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएका थिए । तर, चैत २५ गतेसम्म आइपुग्दा झन्डै १० प्रतिशत नागरिक अझै खोपको दायरामा आएका छैनन् । निर्वाचन आयोगले वैसाख १० गतेसम्म दिइसक्न सरकारलाई अनुरोध गरेको छ ।
तर, कतिपय प्रदेशमा तत्काललाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । १५ महिनादेखि १५ वर्षसम्म्का बालबालिकाका लागि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियानका लागि भन्दै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ । पहिलेजस्तो अभियान नै चलाएर अहिले कोरोनाको खोप दिइएको छैन । कोही लगाउन आए लगाइदिने गरी नियमित कार्यक्रम अहिलेलाई थाती राखिएको छ ।
गण्डकीमा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले टाइफाइडविरुद्धको खोप अभियान सकिएपछि पुनः कोभिड खोप कार्यक्रम सुरु गरिने बताए । लुम्बिनी प्रदेशमा पनि टाइफाइडविरुद्धको खोप अभियानलाई लक्षित गर्दै तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित रहेको स्वास्थ्य निर्देशनालय बुटवलका प्रवक्ता रोशनलाल चौधरीले बताए ।
प्रदेश–१ लक्षित जनसंख्याकोे ७९ प्रतिशतले मात्रै दुई डोज खोप लगाएका छन् । यो प्रदेशमा भने टाइफाइड र कोभिड दुवै खोप कार्यक्रम सँगसँगै अघि बढाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
‘निर्वाचनलाई असर नपर्नेगरी खोप कार्यक्रम चलाउछौं’
निर्वाचन आयोगले वैशाख १० गतेअघि सबै नागरिकलाई खोप दिइसक्न अनुरोध गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोहीअनुसार खोप प्रदान गर्न प्रदेश र स्थानीय तहहरुलाई परिपत्र गरिसकेको छ । तर, अहिलेको रफ्तार हेर्दा सो मितिमा लक्षित सबैले खोप पाइसक्ने देखिँदैन । सबै नागरिकलाई वैशाख १० गतेसम्म खोप दिइनसके निर्वाचनको समयमा पनि खोप कार्यक्रम जारी राख्ने स्वास्थ्य सेवा विभागको योजना छ ।
खोप शाखा प्रमुख सागर दाहाल भन्छन्, “निर्वाचन आयोगको आग्रहलाई स्वीकार गर्दै तोकिएको मितिमा नै लक्षित नागरिकलाई खोप दिइसक्नेगरी काम गरिरहेका छौं । नसकिए पनि निर्वाचनलाई असर नपर्नेगरी खोप कार्यक्रम सञ्चालन गर्छौं ।”
खोप कार्यक्रम सरकारको तालिकाअनुसार नै अघि बढे पनि पहिलो र दोस्रो डोजबीचको ग्याप, खोप भण्डारण तथा ढुवानीजस्ता विविध प्राविधिक कारणले केही ढिलासुस्ती भएको दाहालको भनाइ छ ।