बेइजिङ । चीनले युक्रेन संकटको मुख्य कारण युरोपको सुरक्षा प्रणालीको असन्तुलन रहेको प्रतिक्रिया दिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले फ्रान्सेली समकक्षीसँगको टेलिफोन वार्तामा युक्रेन संकटको पछाडि युरोपको वर्तमान सुरक्षा प्रणालीको असन्तुलन रहेको बताएका चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
“युक्रेन मुद्दाको मुख्य कारण युरोपेली सुरक्षा प्रणालीको असन्तुलन हो,” वाङले भने ।
युरोपमा अविभाज्य सुरक्षाको सिद्धान्त पछ्याउन र सन्तुलित एवं प्रभावकारी सुरक्षा संयन्त्रलाई पुनः निर्माण गर्न आवश्यक रहेको वाङको भनाइ छ ।
“युरोपमा दिगो शान्ति र स्थायित्व स्थापना गर्ने यो एक मात्र उपाय हो,” चिनियाँ शीर्ष कूटनीतिज्ञले जोड दिए ।
वाङ यीले रुस र युक्रेनबीच शान्ति वार्ताका लागि सबै पक्षले सहजीकरण गर्नुपर्ने पनि औँल्याए । “युद्ध चर्काउन ठुलो मात्रामा हातहतियार र गोला बारुदको डेलिभरी जारी राख्दै एकै समयमा युद्ध विरामका लागि आह्वान गर्न सक्नुहुन्न,” उनले भने ।
तासबाट ।