काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन् ।
शुक्रबार अनेरास्ववियुको बैठकमा उनले तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायतको हत्या गरेको दाबी गरे ।
“भारतीय सेना ल्याएर, गिरफतार गराएर डोटीमा लगेर भीमदत्त पन्तको टाउको काट्ने काम गराइएको थियो । भन्दा राम्रो लाग्दैन । तर, यो सब नेपाली कांग्रेसले गराएको थियो । भारतीय सेना बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने र देशभक्तको टाउको कटाएको थियो,” ओलीले आरोप लगाए ।
कांग्रेसले जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्ने गरेको ओलीको आरोप छ ।
“कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ । बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने । उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो,’ ओलीले भने ।