काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले 'निर्माण होलिडे' घोषणा गर्न सरकारसँग माग गरेको छ ।
महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएकाले निर्माण कार्य अगाडि बढाउन नसक्ने भन्दै कन्स्ट्रक्सन होलिडे घोषणा गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएकाले यसअघि सम्झौता भएका निर्माण परियोजनाको लागत अत्यधिक पर्ने बताए । उनले निर्माण होलिडे घोषणा नगरे निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको असर न्यून गर्न आग्रह गरे ।
“निर्माण सामग्री धेरै बढेको छ । यस्तो बेलामा निर्माण गर्न गाह्रो छ । लागत उच्च हुन्छ । त्यसैले सरकारसँगको समन्वयमा मूल्यवृद्धि नियन्त्रणमा नआएसम्म निर्माण होलिडे गर्न आग्रह गर्छौं,” उनले भने, “त्यस समयसम्म परियोजनाको म्याद पनि थप गर्नुपर्छ ।”
निर्माण होलिडे घोषणा गर्न नसक्ने भए निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको असर कम गर्न सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।