
काठमाडौं । चुनावी गठबन्धनको विषयमा सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारी नै दुई धारमा उभिएका छन् ।
शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकको तेस्रो दिनको बैठकमा पार्टीका उपसभापतिद्वय दुई धारमा देखिएका हुन् ।
महामन्त्रीद्वयको पनि धारणा फरक फरक रहेको एक नेताले जानकारी दिए ।
सोमबारको बैठकमा बोल्दै पार्टीमा पहिलो वरीयताका उपसभापति पूर्णबहादुर खड्का प्रष्ट गठबन्धनको पक्षमा उभिए ।
सभापति देउवा निकट उपसभापति खड्काले गठबन्धनको विषयमा एकमतले निर्णय गर्नुपर्ने धारणा राखे ।
“एकमतका साथ तालमेलको बारेमा निर्णय गर्नुपर्छ,” उनले भने,“हामी भरपर्दो पार्टीको रूपमा देखा पर्नुपर्छ । देखिएन भने भोलि समस्या हुन्छ।”
खड्का बैठकमा सभापति देउवा बचाउमा उत्रिए । बैठकमा बोल्दै देउवाले पनि गठबन्धन नगरी चुनावमा नजाने धारणा राखेका थिए ।
तर, अर्का उपसभापति धनराज गुरुङ भने गठबन्धनको विपक्षमा कडा रूपमा प्रस्तुत भएका थिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बाह्रखरीलाई दिएको जानकारी अनुसार गुरुङले मामाघर गएका कम्युनिस्ट भाञ्जाभाञ्जीहरू मिले के हुन्छ ? भन्दै प्रश्न गरे ।
उपसभापति गुरुङले नैतिकताको धरातलमा टेकेर चुनावमा गए मात्र कांग्रेस पहिलो पार्टी बन्ने धारणा राखे । उनले एजेन्डा लिएर गएमात्र लामो समय कांग्रेसले देशलाई लिड गर्ने भन्दै कांग्रेसले कति सम्म भविष्य हेरेको हो भन्दै प्रश्न गरे ।
“मामाघर गएका कम्युनिस्ट भाञ्जाभाञ्जीहरू मिले के हुन्छ ?,” गुरुङले प्रश्न गरे,“४८ सालदेखि सार्वजनिक पदमा बसेका सबैको भ्रष्टाचारको छानबिन र सम्पत्ति छानबिन गर्ने निर्णय गरेर जनतामाझ जाउँ यसरी गए चुनाव जितिन्छ ।”
उनले चुनावमा जाने भए नैतिकताको धरातलमा टेक्नुपर्ने तर्क राखे ।
“तलबाटै गठबन्धन गरे ठिकै होला तर, नेपाली कांग्रेसको सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर गर्ने गठबन्धन स्वीकार गर्न सकिँदैन,” उनले भने,“नैतिकताको धरातलमा टेकेर चुनावमा गए मात्र चुनाव जितिन्छ । एजेन्डाले जित्ने हो लामो समयका लागि जित्ने भए छोटो समयका लागि जित्ने भए यो तालमेल गरेर जाऔँ ।”
अन्तरघातको रोगबाट मुक्त भएको छैन, गठबन्धन चाहिन्छ : देउवा
बैठकमा सभापति देउवाले पार्टी अन्तरघातको रोगबाट मुक्त भइनसकेकाले चुनावी गठबन्धन पहिलो आवश्यकता भएको बताएका थिए । उनले कम्युनिस्ट नेकपा(एमाले) फुटेको भन्दैमा कांग्रेसले जितिहाल्छ भन्ने महत्वकांक्षा नपाल्न नेताहरूलाई निर्देशन दिए ।
“हाम्रो पार्टीमा एउटा रोग छ रोगबाट मुक्त भइसकेको छैन अन्तरघातको रोग, मुक्त भए मात्र गठबन्धन गर्न पर्दैन होइन भने गठबन्धन नगरि चुनावमा जान सक्ने अवस्था छैन,” उनले भने,“ अरु पार्टी फुटेका छन् । हामी जितिहाल्छौँ भन्ने साथीहरुको मानसिकता छ । तर, अहिले अवस्था सोचेजस्तो छैन।”
सभापति देउवाले आफू विगतमा गठबन्धनको पक्षधर नभएको भन्दै परिस्थिति र आफ्नै दलले गठबन्धनको पक्षमा उभ्याएको बताए । साथै उनले पार्टीभित्र अनुशासन कार्यान्वयन गराउन पनि पदाधिकारीहरुलाई निर्देशन दिए ।
“म गठबन्धनको पक्षमा थिइन मलाई साथीहरुले गठबन्धनको पक्षमा ल्याएका हुन् । अरु पार्टीमा कडा अनुशासन छ हामीकहाँ भोट नहाल्ने रोग छ,”उपसभापति महामन्त्री देखाउँदै उनले भने,“तपाईंहरुनै हो अनुशासनमा राख्नुहोस् । अनुशासन उल्लंघन गर्नेलाई कारवाही पनि गर्नुहोस् ।”
गठबन्धनको भ्रुण मैले बसाएको हो : पौडेल
बैठकमा सबैले पाँच मिनेट बोल्न पाउने समयसीमा तोकिएको थियो । तर, आफूलाई पाँच मिनेटले नपुग्ने भन्दै १५ मिनेट भन्दा बढी बोलेका नेता रामचन्द्र पौडेलले गठबन्धनको विजारोपण आफूले गरेको दाबी गरे ।
उनले तनहुँमा आफूले पूल उद्घाटन गर्ने क्रममा तत्कालीन एमाले सांसद किसान श्रेष्ठको समूहले आक्रमण गरेपछि नेतृ रामकुमारी झाँक्रीले विरोध जनाएपछि गठबन्धनको भ्रुण रोपिएको बताए ।
“गठबन्धन सुत्रपात देउवाजीले गरेको होइन हामीले गरेको हो । तत्कालीन इतर समूहका हामीले गरेका हौँ,” उनले भने,“तनहुँमा मलाई पूल उद्घाटन गर्ने क्रममा आक्रमण गर्दा रामकुमारी झाँक्रीले आपत्ति प्रकट गरिन् । त्यो स्वागतयोग्य काम थियो ।”
नेता पौडेलले नेकपा (एमाले) लाई बलियो बनाउन नहुने धारणा राखे । उनले नेकपा(माओवादी) र नेकपा(एकिकृत समाजवादी)लाई केही मत हालेर साइजमा राख्नुपर्ने र यसले ओलीको शक्ति कमजोर हुने दाबी गरे ।
“कम्युनिष्टसँग मिल्ने नहुने कुरा पञ्चायतमा दरवार र विदेशीको हुन्थ्यो । अहिले पनि कता कता यो खालको कुरा छ,” उनले भने,“ओलीलाई साइजमा राख्न भए पनि गठबन्धन गर्न आवश्यक छ।”
खाँणको रिपोर्टिङ : शक्ति केन्द्रले कम्युनिस्ट एक बनाउन लागेको छ
बैठकमा गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणले शक्ति केन्द्रहरुले कम्युनिस्टहरुलाई मिलाउन खोजिरहेको सूचना आफूले पाएको बताए । उनले गठबन्धनबारे हामीले सचेत भएर कदम नचाले चुनावमा नतिजा राम्रो नआउने व्रिफिङ गरे ।
सोमबार जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।
“शक्ति केन्द्रहरुले कम्युनिस्टहरुलाई मिलाउन खोजिरहेको सूचना मलाई छ । गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ,” उनले भने,“चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं । अहिले झगडा गर्नुपर्ने आवश्यक छैन ।”
उनले सत्ता गठबन्धन हुनेसमयनै चुनावी गठबन्धन गर्ने सहमति भइसकेको भन्दै अहिले गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा गर्न उपयुक्त नभएको बताए ।