site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धन नहुँदा देउवा र प्रचण्डलाई नै डर ! परिवार व्यवस्थापन अर्को बाध्यता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले गत बिहीबार आफू फेरि कैलाली क्षेत्र नम्बर ५ बाटै उमेदवारी दिने उद्घोष गरिन् ।

यतिमात्रै होइन उनले अहिलेका सत्ता गठबन्धनका दल मिलेरै चुनावमा जाने बताइन् । उनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा ०७४ को चुनावले सिकाएको अनुभवले गठबन्धनमा जानैपर्ने तर्क गरिन् । प्रधानमन्त्री पत्नीको गठबन्धनबारे यो भनाइले सत्तारुढ दलको सहकार्य चुनावसम्मै हुने संकेत गर्छ । 

कांग्रेस महामन्त्री गगन थापा, नेता शेखर कोइराला निर्वाचनमा एक्लै जानुपर्ने अडानमा छन् ।  उनीहरु सहभागी सबैजसो कार्यक्रममा कांग्रेस कार्यकर्ताले रुखमै मत दिनुपर्ने धारणा राख्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसका जिल्ला जिल्लाका कार्यकर्ता पनि गठबन्धन भएमा दुवैले धोका खाने प्रतिक्रिया दिन्छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि तीनै तहको निर्वाचनमा सहकार्य हुने बताइरहेका छन् । 

Global Ime bank

त्यतिमात्रै होइन उनले अहिले जिल्लाका कांग्रेस नेताले के भने भन्दा पनि केन्द्रबाटै यस विषयमा निर्णय हुने प्रतिक्रिया चितवन पुगेर दिइसकेका छन् । 

मुलुकको ठूलो दल नेकपा एमाले र माओवादी केन्द्रका केही नेताहरु फेरि एमाले–माओवादी मिल्नुपर्छ भन्ने लविइङमा छन् ।

यस्तोमा राजनीतिक कोर्स कसरी अगाडि बढ्ला अनुमान गर्न मुस्किल छ ।

तर कांग्रेसको जारी केन्द्रीय समिति बैठकले पनि गठबन्धनका लागि बाटो खुला राख्ने संकेत गरेको छ । केन्द्रीय समितिमा धारणा राख्ने नेताहरुले यस विषयमा धारणा राख्दै गठबन्धन गरेरै अघि बढ्नुपर्ने बताइरहेका छन् । 

संसदीय प्रक्रियामा दलहरुले चुनाव ‘फेस’ गर्नैपर्छ । निर्वाचनमा विचार र एजेण्डा मिल्ने दलहरुबीच चुनावी तालमेल पनि हुन्छ । 

नेपालमा पनि आफ्नो अनुकूलतालाई हेरेर तालमेल हुँदै आएको छ । 

कांग्रेस र कम्युनिष्ट दुई फरक बाटोमा रहेका दलहरु भए पनि विगतदेखि नै गठबन्धनको संस्कृति अपनाउँदै आएका छन् । तर यसलाई कतिपयले ‘स्वार्थको सम्बन्ध’ पनि भन्ने गरेका छन् । 

देउवा र प्रचण्ड किन गठबन्धन गर्नैपर्छ भन्ने अवस्थामा पुगेका छन् त ? उनीहरु किन डराइरहेका छन् ? यसमा उनीहरुसँगै उनीहरुका परिवारका सदस्यको व्यवस्थापनको चिन्ता रहेको दुवै पार्टीका प्रभावशाली नेताहरुले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा बताउने गरेका छन् ।

आफुसहित परिवारका सदस्यका लागि देउवा–प्रचण्ड एकता कायम राख्न चाहेका उनीहरुकै पार्टीका नेताहरु बताउँछन् ।

प्रचण्ड चितवनबाट संसदीय निर्वाचन जितेका हुन भने उनकी बुहारी विना मगर कञ्चनपुरबाट । उनीहरु तत्कालीन अवस्थामा एमालेसँगको सहकार्यमा वाम गठबन्धनबाट उमेदवार बनेका थिए । 

प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर उपमहानगरपालिकाको मेयर छन् । उनी कांग्रेसको सहयोगमा चुनाव जितेकी हुन् ।

कांग्रेसको बलियो जनआधार रहेको भरतपुरमा माओवादीलाई समर्थन गर्ने केन्द्रको निर्णयको जिल्लाका नेता–कार्यकर्ताले चर्को विरोध गरेका थिए । अहिले पनि तल्लो तहमा असन्तृष्टि कायम छ । केन्द्रीय समितिको बैठकमा चितवनका नेता दिनेश कोइरालाले कुनै पनि हालतमा गठबन्धन गर्न नहुने धारणा राखेका थिए । उनले त्यस्तो अवस्थामा विद्रोह हुने बताएका थिए । 

शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचन लड्छन् । सबै चुनावमा उनले जित हासिल गरेका छन् । पछिल्ला ३ वटा निर्वाचनमा डडेल्धुरामा उनका प्रतिष्पर्धी माओवादी नेता खगराज भट्ट थिए ।

देउवा पत्नी आरजु राणा देउवा कैलाली ५ बाट चुनाव लडेकी थिइन् । उनी पराजित भइन् । कैलाली ५ मा कांग्रेसमा आन्तरिक किचलो पनि छ । आरजुले कैलालीबाट चुनाव लड्ने बताइसकेकी छन् । तर गठबन्धन नहुने अवस्थामा ढुक्क हुने अवस्था भने नभएको कांग्रेसकै नेता कार्यकर्ताको टिप्पणी छ ।

यसरी हेर्दा देउवा–प्रचण्डसहित उनका परिवारको राजनीतिक भविष्य पनि गठबन्धनसँगै जोडिएको छ । 

हेरौं– देउवा–प्रचण्डसँगै उनका परिवारको विगतको चुनावी समीक्षा

कैलालीबाट चुनाव जित्ने आरजुको सपना

पछिल्ला वर्षहरुमा देउवा पत्नी आरजु देउवा राणाको सक्रियता कैलालीमा बढ्दो छ । अघिल्लो निर्वाचनमा उनी वाम गठबन्धनका एमाले नेता नारदमुनि रानासँग कैलाली क्षेत्र नम्बर–५ बाट पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत पाएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् । तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु थिए । उनल  ६ हजार ७४७ मत पाएका थिए ।

आरजुको हारपछि कैलाली कांग्रेसमा विवाद भएको थियो । सो क्षेत्रमा प्रभावशाली मानिएका कांग्रेस नेता पुष्करनाथ ओझालाई कारवाही समेत भएको थियो । उनको कारवाही फिर्ता भएको छैन । उनको कैलाली क्षेत्र नम्बर–५ मा बलियो प्रभाव छ । अहिले माओवादी पनि विभाजित छ ।

कैलाली–५ कै माओवादी नेता तथा संविधासभा सदस्य लिला भण्डारी एमालेमा सक्रिय छन् । यसबाहेक पछिल्लो समय लेखराज भट्ट पनि एमालेमा गएपछि माओवादी प्रभाव पनि कम छ । माओवादी चुनाव जित्ने अवस्थामा छैन । तर अरुको हार जितका लागि निर्णायक बन्न सक्छ । त्यसैले माओवादीको मत आफुले पाए ढुक्क हुने अवस्था आरजुका लागि हुने सम्भावना छ । तालमेलबिना आरजुको चुनाव जित्ने चाहनामा अर्कोपटक ब्रेक लाग्न सक्ने स्थानीय नेता कार्यकर्ता बताउँछन् । 

डडेलधुरामा ढुक्क हुन चाहन्छन् देउवा 

झट्ट सुन्दा देउवा डडेल्धुराबाट ढुक्कै जित्छन् भन्ने लाग्छ । लडेका सबै चुनाव जितेकाले पनि देउवा फेरि चुनाव जित्छन् भने अनुमान अन्यथा होइन । तर देउवाकै पार्टीभित्रको राजनीति अहिले त्यहाँको अवस्था फेरिएको छ । डडेल्धुराको केन्द्रीय निर्वाचनमा देउवाका पछिल्ला तीनवटै चुनावमा माओवादी नै प्रमुख प्रतिष्पर्धी हो ।

माओवादी केन्द्रका युवा नेता खगराज भट्ट देउवाका सदावहार प्रतिष्पर्धीजस्तै हुन् । प्रधानमन्त्री देउवा गत निर्वाचनमा माओवादी केन्द्रका खगराज भट्टलाई पराजित गरेका थिए । भट्ट वाम गठबन्धनबाट उमेदवार थिए । उनी माओवादी केन्द्रका बलिया उमेदवार हुन् । देउवाले २८ हजार ४ सय ४६ मत प्राप्त गर्दा भट्टले २१ हजार ४ सय ९८ मत प्राप्त गरेका थिए । राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मी दत्त भट्टले ८५७ मत ल्याए । 

०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा उनै भट्टलाई देउवाले १ हजार ३ सय मतले हराएका थिए । २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा पनि भट्ट नै निकट्तम प्रतिद्वन्द्वी थिए । डडेल्धुरामा एमालेको बलियो प्रभाव छैन । 

गत निर्वाचनमा देउवाले भट्टलाई ६ हजार ९४८ मतले हराएका थिए । वाम गठबन्धनबाट भट्ट उमेदवार बने पनि उनलाई एमालेले सहयोग नगरेको उनी निकटहरुले बताउँदै आएका छन् । 

देउवालाई डडेल्धुराको अर्को डर भनेको पार्टीभित्रको अन्तरघात हो । देउवाको जिल्लामा उनीपछि अर्का प्रभावशाली नेता हुन् निवर्तमान पार्टी सभापति कर्ण मल्ल । उनको प्रभाव कार्यकर्तास्तरमा पनि राम्रो छ । तर उनको देउवासँगको सम्बन्ध राम्रो छैन ।
प्रदेशसभाका सांसद समेत रहेका मल्ल डडेल्धुरा पार्टीको निर्वाचनमा देउवाले हस्तक्षेप गरेको भन्दै खुलेरै विरोध गर्दै आएका छन् । 

कांग्रेस नेता–कार्यकर्ताहरुका अनुसार उनी देउवासँग मिल्ने सम्भावना निकै कम छ । त्यसैले उनी आफ्नो गृहजिल्लामा कुनै जोखिम नमोलेरै चुनाव जित्न चाहन्छन् । यसका लागि माओवादीसँग मिलेमा उनलाई सहज हुने अनुमान कतिपय कांग्रेस नेताको छ ।

कञ्चनपुरबाट विना मगरको दोहोरिने सपना

कञ्चनपुर क्षेत्र नम्बर १ बाट चुनाव जितेकी विना मगर प्रचण्डकी बुहारी हुन् । गत निर्वाचनमा विनाले नेपाली कांग्रेसका उमेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी थिइन् । विनाले ३८ हजार ४६७  मत प्राप्त गर्दा विष्टले १९ हजार २१९ मत पाएका थिए । 

राष्ट्रिय जनमोर्चाका लोकेन्द्र लम्सालले ८७१, पल्टु राना राजपा ६९०, लक्ष्मी नारायण चौधरी विवेकशील साझाले ४८० मत प्राप्त गरेका थिए । लम्साल हाल नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । 

विना वाम गठबन्धनबाट चुनाव लडेकी थिइन् । विनाको क्षेत्रमा एमालेको बलियो प्रभाव छ । एमाले विभाजनपछि सो क्षेत्रका प्रभावशाली नेता मानिएका तारा लामा तामाङ माधव नेपाल नेतृत्वको पार्टीमा छन् । 

उनी प्रदेश मन्त्री पनि छन् ।  तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रचण्ड दुई क्षेत्र कांग्रेसलाई छाडेर विनाको क्षेत्र माओवादीको भागमा पार्न चाहन्छन् । 

सुदूरपश्चिममा अन्य क्षेत्रको तुलनामा विना मगरकै क्षेत्रमा माओवादी प्रभाव बढी छ । तर विगतको भन्दा अहिले माओवादीको अवस्था पनि फेरिएको छ । तत्कालीन माओवादीका कञ्चनपुर जिल्ला अध्यक्ष वीरबहादुर थापा ‘पातल’, रोशन खड्का, राधाकृष्ण जोशीलगायतका नेताहरु एमालेमा सक्रिय छन् । यसले माओवादीको मत केही घट्ने अनुमान त्यहाँका नेताहरुको छ । ढुक्क हुने अवस्थाका लागि गठबन्धन नै माओवादीको रोजाइ बन्नसक्छ । 

प्रचण्डलाई नै कठिन छ चितवन

गत निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४८ हजार २७६ मतका ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी राप्रप्राका विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए ।

नेकपा मालेका डम्बर श्रेष्ठ १५८७ मत प्राप्त गरे । गत निर्वाचनमा प्रचण्ड वाम गठबन्धनबाट निर्वाचनमा उत्रिएका थिए । विक्रम पाण्डेलाई कांग्रेसको समर्थन थियो । माओवादीकै जिम्मेवार नेताहरु एक्लाएक्लै निर्वाचनमा जाने अवस्था आए प्रचण्डलाई नै जित्न कठिन हुने बताउँछन् । 

एमालेसँगको बिग्रँदो सम्बन्धका कारण पनि एमाले प्रचण्ड हराउन सक्रिय हुनेछ । यस्तोमा कांग्रेस वा एमालेमध्ये एक पार्टीको सहयोगविना प्रचण्डलाई चितवन मुस्किल देखिएको विगतका तथ्यहरुले देखाउँछ । 

कांग्रेससँग मिलेर प्रचण्ड आफ्नो चुनावी जित सुनिश्चित गर्न चाहन्छन् । तर चितवनका नेता–कार्यकर्ताहरु कांग्रेस नेतृत्वलाई तालमेल नगर्न दबाब दिइरहेका छन् । 

कांग्रेस कार्यकर्ताको चर्को असन्तृष्टिका कारण प्रचण्डलाई चितवनमा ढुक्क हुने अवस्थामा छैनन् । त्यसैले उनी कांग्रेससँग दुरी बढाउन चाहँदैनन् । 

चितवनमा कांग्रेसले सहयोग नगरे प्रचण्ड एमालेसँग पनि सहकार्यका लागि जानसक्ने माओवादी नेताहरु बताउँछन् । यस्तोमा फेरि वाम गठबन्धन बन्नसक्ने डर देउवामा छ । त्यसैले दुवै नेताहरु गठबन्धन जोगाइराख्न चाहन्छन् । 

भरतपुर महानगरले रेणुलाई दोहोर्‍याउने चाहना
चितवनको भरतपुर महानगरकी मेयर रेणु दाहाल प्रचण्डकी छोरी हुन् । गत स्थानीय तहको निर्वाचनमा  कांग्रेस–माओवादी गठबन्धनबाट रेणु दाहाल विजयी भएकी थिइन् । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि वडा नम्बर १९ मा पुनः भएको मतदान भएको थियो ।

दाहालले ४३ हजार १ सय २७ मत ल्याएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए । ज्ञवाली सो क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् । 

उमेदवार नै नभएको नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा करिब १० हजार मत खसेको थियो ।  

राप्रपाका मेयर उम्मेदवार बद्री तिमल्सिनाले ६ हजार आठ सय ४२ मत प्राप्त गरेका थिए । भरतपुर माओवादीलाई छाड्न नहुने कांग्रेस नेता–कार्यकर्ताले नेतृत्वसँग माग गर्दै आएका थिए । तर सभापति देउवाले कार्यकर्ताको कुरा सुनेनन् । माओवादीलाई भरतपुरको मेयरमा समर्थन गर्ने निर्णयको पार्टीभित्र व्यापक विरोध भएको थियो । रेणुलाई समर्थन गर्ने निर्णयको अहिलेसम्म विरोध कायम छ । 

प्रचण्ड फेरि चितवनमा रेणुलाई मेयरमा दोहोर्‍याउन चाहन्छन् । चुनाव कांग्रेसको सहयोगबिना सम्भव नदेखिने त्यहाँका नेता कार्यकर्ता बताउँछन् । 

स्थानीय तह निर्वाचन ३० वैशाखमा तोकिएको छ । कांग्रेस जिल्ला नेताहरुले देउवालाई भेटेरै भरतपुर नछाड्न दबाब बढाइरहेका छन् । 

त्यसैले माओवादी र कांग्रेसबीच भरतपुरमा संसदीय चुनावसम्मका लागि अहिले नै सहकार्यको सम्झौता हुन सक्ने अनुमान धेरैको छ । 

एक्लै चुनावमा जित्न नसकिने निष्कर्षपछि मेयर कांग्रेसलाई दिएर रेणु दाहालले संघीय सांसदमा निर्वाचित गराउने सम्झौता पनि अहिले नै हुन सक्ने कतिपयको आकलन छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement