
काठमाडौं । स्थानीय तह निर्वाचन आउन ५० दिन बाँकी रहँदा सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारबाट सुरु भएको छ । दिउँसो २ बजे भनिएपनि करिब ३ बजेबाट सुरु भएको बैठकमा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखे ।
बैठकभर कुरा सुनेका सभापति देउवाले अन्तिममा बोले । बैठकलाई अन्त्य गर्ने क्रममा संक्षिप्त बोलेका देउवाले चुनावी गठबन्धनका विषयमा बैठकमा उठेका विषयहरूलाई जवाफ दिएका थिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार देउवाले चुनाव लड्न मात्र टिकट लिए घातक हुने बताएका थिए ।
“चुनाव चाहिँ नजित्ने अनि गठबन्धन नगर्ने ? कि संगठन गर्नुपर्यो कि मिलेर चुनाव लड्नुपर्यो,” देउवाको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “जहाँ जित्छ त्यहाँ एक्लै लड्नुहोस्, नजित्ने ठाउँमा गठबन्धन गर्नुपर्छ । चुनाव लड्नका लागि मात्र टिकट लगेर भएन जित्नका लागि लानुपर्यो ।”
चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइरालाले बैठकमा माओवादीसँग मिल्दा चितवनका जनताले रुखमा भोट हाल्न बिर्सने खतरा बढेको बताएका थिए । बैठकमा उनले "अरू जिल्लामा कांग्रेसले माओवादीलाई छाड्दे भइहाल्यो नि ! चितवनमा मात्र किन गर्ने ?" भनेर प्रश्न गरेका थिए ।
बैठकको अन्त्यमा केन्द्रीय सदस्य कोइरालाई जवाफ दिँदै देउवाले "अहिलेसम्म चितवनमा जितेको छ ?" भन्दै प्रश्न गरेका थिए ।
“चितवनमा चुनाव हामीले जितेकै छैन । एक्लै पनि जित्छौँ भन्छन् यार साथीहरू । मलाई थाहा छ गठबन्धन नगरी चितवन जित्यो ? अहिलेसम्म जित्यो ? अब पनि जित्छ ?,” रिसाउँदै देउवाले भनेका थिए ।
देउवानिकट एक केन्द्रीय सदस्यले चितवनको विषयमा सभापति गठबन्धनको पक्षमा छन् ।
“उहाँको संकेत स्पष्ट छ । चितवनमा चुनावी विगतमा जस्तै हुन्छ । अर्थात् माओवादीलाई छाड्ने संकेत उहाँको छ,” उनले भने ।
केन्द्रीय सदस्य कोइरालाले पनि आफूले बैठकमा एक्लै चुनावमा जानुपर्ने धारणा राखेको बताए । नेकपा भङ्ग भएको र एमाले विभाजन भएका बेलामा पनि एक्लै नलडे कहिले लड्ने भन्दै आफूले स्थानीय समितिले नै गठबन्धनको निर्णय गर्न पाउनुपर्ने माग राखेको बताए ।
“यतिबेला पनि कांग्रेस सिङ्गल लडने भने कहिले लड्ने ? नेकपा फुटेको बेला, एमाले फुटेको बेला छ,” कोइरालाले भनेका थिए,“चितवनमा यदि गठबन्धन हुन्छ भने माओवादीले गत ०७४ मा कांग्रेसलाई धोका दिएको छ । इमान्दारपूर्वक विना स्वार्थ सहयोग गर्छौं भन्नुपर्छ, नत्र हुँदैन । चुनावमा कांग्रेसलाई धोका दियौँ । एमालेमा गएर भोट हाल्यौँ, गल्ती गर्यौँ, अब सहकार्य गरौँ हामी विना सर्त कांग्रेसलाई सहयोग गर्छौं भने बहस हुन्छ ।”
पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा
बैठकमा पार्टीको पाँच सभापति केन्द्रबाट लादिने गठबन्धनको विपक्षमा उभिएका छन् । सात प्रदेशमध्ये मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका विरबहादुर बलायर गठबन्धनको विपक्षमा उभिएका हुन् । जसमध्ये मधेश प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका सभापतिहरू देउवा निकट मानिन्छन् ।
सात प्रदेशमध्ये लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमामा छन् । सुदूरपश्चिमका बलायर बैठकमा उपस्तिथि भएनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् । कर्णालीका सभापति शाही स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्न पर्ने पक्षमा देखिएका छन् । केन्द्रबाटै गठबन्धनको निर्णय लिन नहुने उनको मत छ । मधेश प्रदेशका सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् ।
प्रदेश १ का सभापति उद्धव थापा र वाग्मतीका सभापति इन्द्र बानियाँ भने गठबन्धनको पक्षमा उभिएका छन् । उनीहरूले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्ताधारीहरूबीच गठबन्धन हुनुपर्ने बताएका छन् ।
“गठबन्धन हुनुपर्छ भन्ने हो । तर, गठबन्धन गर्दा स्थानीय तहको मतभारको आधारमा गठबन्धन गर्नुपर्छ भन्ने बैठकमा कुरा राखे,” प्रदेश १ का सभापति उद्धव थापाले बैठकपश्चात् बाह्रखरीसँग भने ।
यता लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले चुनावमा ‘किन गठबन्धन गर्नुपर्ने ?’ भन्दै बैठकमा प्रश्न उठाएका थिए । उनले "बैठकमा गठबन्धनमा जानुपर्छ भन्ने के जरुरी छ र ? जहाँ जसको २०० मत छ त्यहाँ कांग्रेसको २० हजार मत लगरे दिन सकिन्छ र ? जहाँ कसैको ५० मत होला हजार मत लगेर दिन सकिन्छ र ?" भन्दै प्रश्न उठाएका थिए ।
“कांग्रेसको स्थिति राम्रो भइरहेको छ । गठबन्धन गर्नुपर्ने कारण के ? हिजाको समीक्षा गर्ने कि नगर्ने ? हामी पार्टी भित्रै एक ढिक्का होस् पार्टीभित्रै गठबन्धन पहिले गरौँ भनेर मैले कुरा राखेँ,” बैठकपछि उनले भने ।
गठबन्धन गर्ने हो भने मतभारलाई आधार बनाउनुपर्ने उनको भनाइ छ । गठबन्धन गर्ने/नगर्ने र टिकट वितरण गर्नेबारे अधिकार प्राप्त समितिलाई दिनुपर्ने उनको भनाइ छ ।
गठबन्धन गर्दै गए ‘कंग्रेस आई’को झैँ हालत हुने चेतावनी
बैठकमा गण्डकी र लुम्बिनी प्रदेश सभापतिहरूले चुनावमा गठबन्धनकै भर परे पार्टीको हालत भारतीय ‘कांग्रेस आई’को जस्तो हुने दिए । गण्डकी सभापति शुक्रराज शर्मा र लुम्बिनी सभापति अमरसिंह पुनले चुनावी गठबन्धनले कांग्रेसलाई फाइदा हुने नसोच्न र गठबन्धन गरेर गए भारतीय कांग्रेस (कांग्रेस आई)को अवस्था नेपाली कांग्रेसको हुने चेतावनी दिए ।
“गठबन्धन गर्दै जाने हो भने हाम्रो हालत कांग्रेस आईको झैँ हुनेछ,” लुम्बिनी सभापति पुनले भनेका थिए,“आफ्ना मतदातालाई अरूको चिह्नमा भोट हाल्न लगाएर आदत बसाल्नु भनेको पार्टीलाई दुर्घटनामा लैजानु हो ।”
बैठकमा प्रदेश १ सभापति थापा र वाग्मतीका सभापति बानियाँले भने केन्द्रबाट गठबन्धन गर्न नहुनेमा जोड दिए । गठबन्धन गर्दा स्थानीय आवश्यकताअनुसार गर्नुपर्ने उनीहरूको भनाइ छ । गठबन्धनको निर्णय केन्द्रबाट हुँदा स्थानीय आवश्यकताको विपरीत हुन सक्ने उनीहरूले बताए ।
कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले त माओवादीको प्रस्तावअनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस नील हुने चेतावनीनै दिए ।
बैठकमा जिल्ला जिल्लामा घरदैलो अभियानमा खटेका नेताहरूले गठबन्धन केन्द्रबाट गर्न नहुने माग राखेका थिए ।
केन्द्रीय सदस्य योगेन्द्र चौधरीकाअनुसार जिल्ला खटिएका प्रतिनिधिहरूले गठबन्धन केन्द्रबाट लादे प्रत्युत्पादक हुने धारणा राखेका थिए । गठबन्धन आवश्यक भए स्थानीय तहले गर्नेगरी तलै अधिकार दिन जिल्ला पुगेकाहरूले धारणा राखेको उनले बताए ।
बानियाँको ब्रिफिङ : संसदीय समिति गठन भइसक्यो
बैठकमा वाग्मती प्रदेशले संसदीय समिति गठन गरेको ब्रिफिङ गरेको छ । प्रदेश सभापति बानियाँले बैठकमा बििफ्रिङ गर्दै संसदीय समिति गठन गरिसकेको जानकारी दिए ।
जारी केन्द्रीय समिति बैठकको उद्देश्य संसदीय समिति गठन गर्नु पनि हो । कांग्रेसको विधानमा अनिवार्य गठन गर्नुपर्ने भनिएको संसदीय समितिको काम वडादेखि केन्द्रसम्म आफ्ना उमेदवारहरू छनोट गर्ने र टिकट वितरण गर्ने हो ।
प्रतिनिधि सभा संसदीय समितिको काम वडा तहको टिकट वितरण गर्ने हो । जिल्ला संसदीय समितिले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई टिकट वितरण गर्ने क्षेत्राधिकार रहेको छ । प्रदेश संसदीय समितिले नगर तथा उपमहानगरपालिकामा टिकट वितरण गर्छ । केन्द्रीय संसदीय समितिले महानगरदेखि माथिको संरचनामा टिकट वितरण गर्ने विधानको व्यवस्था छ ।
सोही विधानको व्यवस्थाबमोजिम वाग्मती प्रदेशले संसदीय समिति निर्माण गरेको हो । वाग्मती प्रदेश सभापति बानियाँले आफूले सहमतिमै संसदीय समिति निर्माण गरिसकेको बैठकमा जानकारी गराएको एक केन्द्रीय सदस्यले बाह्रखरीलाई जानकारी दिए ।
प्रवक्ताको आक्रोश : सभापतिले गठबन्धनको भारी लाद्ने कुरा वाहियात
बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रकाशरण महतले सभापति देउवाले गठबन्धनको भारी लाद्ने भनी सभापतिलाई बदनाम गराउनेगरी गलत प्रचार भइरहेको बताए । उनले चुनावी गठबन्धनबारे पार्टी सभापति शेरबहादुर देउवाले एकल निर्णय नगर्ने पनि दाबी गरे ।
“सभापतिले गठबन्धन लाद्ने भन्ने कुरा गलत हो । कहीँकतै कुरा भएको छैन । गलत न्यारेटिभ बनाउने प्रयास भइरहेको छ । सभापतिको बदनाम गराउने प्रयास भएको हो,” उनले भने ।
प्रवक्ता महतले सभापति देउवा पार्टीलाई बढी सिट जिताउन लागेको भन्दै बचाउनमा उत्रिए ।
“उहाँ एक्लै लड्ने ठाउँमा लड्ने, आवश्यकताअनुसार गठबन्धन गर्ने पक्षमा हुनुहुन्छ । उहाँले लाद्ने कुरा गर्नु भएको छैन,” उनले भने, “सभापतिज्यू केन्द्रीय समिति बैठक विपरीत जानुहुन्न । एक्लो निर्णय गर्नुहुन्न । बैठकको निर्णय उहाँले मान्नु हुन्छ।”