site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डलरमा किनेको ग्यासको साटो विद्युतीय चुलो प्रयोग गरौँ : अर्थमन्त्री

काठमाडौं ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरे ।  सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति हुनेछ ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत् रहेकोले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् । उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्‍याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन् ।  

“आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युत्मा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौँ । बर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत् भारत निर्यात गर्न थालेका छौँ । थप विद्युत् निर्यातका लागि भइरहेका पहल सकारात्मक रूपमा अगाडि बढिरहेको छ,” उनले भनिन् ।

अर्थमन्त्री शर्माले डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्वऊर्जामन्त्री समेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

“विद्युत् आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घर–घरमा, उद्योग–उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ । साथै, गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नुपर्छ, उनले भने ।”

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।

सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत् लगेर सबस्टेसन सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा तीन एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युत्को भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको प्राधिकरणले जनाएको छ ।

जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरि विद्युत् आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । यसले गर्दा सल्यान वा दाङको तुलसीपुरमा विद्युत् अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा बत्ती बाल्न सकिन्छ ।

सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि फिडरहरू निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरि विद्युत् आपूर्ति भइरहेको छ । बाँकी फिडरहरू सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्तिमा झनै सुधार आउनेछ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको पाँच मेगावाटको रुकुमगाड जलविद्युत् आयोजनाको विद्युत् यही मुसिकोट सबस्टेसनमा जोडिनेछ ।

सबस्टेसन निर्माण ०७२ को असारबाट सुरु भएको थियो । तर, सुरुमा निर्माण प्रस्ताव गरिएको स्थानमा पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेसन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रालिसँग आठ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

रुकुम पश्चिममा तीन नगरपालिका र तीन गाउँपालिका सबैमा विद्युत् पुगेको छ । सबै वडाहरूमा भने विद्युत् पुगेको छैन । पालिकाहरूको वडा संख्या ७३ रहेकामा ५२ वडामा विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारणलाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युत्सहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro