काठमाडौँ । कलङ्किस्थित सिद्धार्थ बहुमुखी क्याम्पसले विद्यार्थीलाई जीवन उपयोगी सिप सिकाउनका लागि अभिमुखीकरण तालिम दिएको छ । विद्यार्थीलाई शैक्षिक, प्रशासनिक तथा व्यवस्थानका क्षेत्रमा सफलता हासिल गर्न अपनाउनुपर्ने विषयका सम्बन्धमा कलेजले तालिम दिएको हो ।
मङ्गलबार सञ्चालित एक दिने उक्त अभिमुखीकरण सम्बन्धि कार्यक्रममा समाजसेवा, मनोविज्ञान तथा व्यवस्थापनका क्षेत्रमा अब्बल विज्ञहरुले विद्यार्थीलाई प्रशिक्षित गराएका थिए । कार्यक्रममा नव जीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले निरन्तर प्रयास गर्ने हो भने विद्यार्थी तथा समाजका जुनसुकै क्षेत्रमा आवद्ध व्यक्तिका लागि पनि सफलता हासिल गर्न कठिन नहुने उनले बताए ।
औपचारिक रूपमा कक्षा आठसम्मको मात्रै पढाइ पुरा गरेर परोपकार समाजमार्फत दिनदुखी र पशुपन्छीको सेवा गर्दै आएका दाहालले भने, “हरेक नागरिकले समाजबाट के पाए भन्दा पनि के दिए भन्ने भावनाका साथ काम गर्ने हो भने सुख खोज्न कतैपनि जानुपर्दैन । आशा छ सिद्धार्थ कलेजले विद्यार्थीमा सानैदेखि यस्तो भावना जागृत गराउन मदत गर्नेछ ।”
यसैगरी, कलेजका अध्यक्ष गोविन्द घिमीरेले विद्यार्थीलाई पढाइसँगै समाजका लागि आवश्यक पर्ने ज्ञान र सिप प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त कलेजबाट उत्पादित विद्यार्थीमध्ये न्यूनतम दश प्रतिशतलाई संस्थाले रोजगारीमा पदस्थापना गराउने उनले वाचा समेत गरेका छन् ।
कार्यक्रममा क्याम्पसमा स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो ।