किभ । चौँथो चरणसम्मको शान्तिवार्ता निष्कर्षविहीन बनेपछि मंगलबार रुस र युक्रेनका प्रतिनिधिहरूबीचको पुन: छलफल हुने भएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका प्रवक्ताले युक्रेनले युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेको तर रुसले भने थुप्रै युक्रेनी सहरमा बमबारी जारी राखेको बताएका छन् ।
यसै क्रममा राजधानी किभको एउटा आवासीय क्षेत्रमा भएको रुसी क्षेप्यास्त्र आत्रमणको कारण एक व्यक्तिले ज्यान गुमाएका छन् । साथै आइतबार पोल्यान्ड नजिकको एउटा सैनिक अखडामा रुसी फौजले गरेको आक्रमणले नेटोलाई तर्साउने प्रयास गरेको छ ।
बेलायती रक्षा मन्त्रालयले ब्ल्याक सिको तटीय क्षेत्रलाई नियन्त्रणमा लिएर रुसी नौसैनिक फौजले युक्रेनको जलमार्गबाट हुने व्यापार व्यवसाय अवरुद्ध बनाएको जनाएको छ । बेलायतका आवास तथा समुदाय मन्त्री माइकल गोभले विधायकहरूलाई युक्रेनी शरणार्थीहरूका लागि आवास योजनाबारे जानकारी दिने भएका छन् ।
यता समस्याग्रस्त मारिउपोल सहरबाट करिब १६० वटा कार बाहिरिन सफल भएका छन् । तर रुसी फौजको निरन्तर आक्रमणका कारण दक्षिणी सहरको मानवीय उद्धारमार्फत सर्वसाधारणलाई भाग्न दिने प्रयास असफल भएको छ । त्यस सहरबाट भाग्न सफल व्यक्तिहरूले त्यहाँ खानेपानी र खाद्यान्न सकिएकाले स्थानीय वासिन्दाको हालत बेहाल भएको बताएका छन् ।
यसैगरी रुसी रक्षा मन्त्रालयले दोनेत्स्कमा युक्रेनी क्षेप्यास्त्र प्रहारका कारण २० जना मानिसको ज्यान गएको दाबी गरेको छ । तर युक्रेनले भने त्यहाँ आक्रमण नगरेको बताएको छ ।
बीबीसीबाट ।