काठमाडौं । ब्याजदर वृद्धिले पनि फागुनमा निक्षेपमा सकारात्मक संकेत देखिन सकेन । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप २ अर्बले वृद्धि हुँदा कर्जा लगानी भने १ अर्बले घटेको छ ।
स्वदेशी मुद्राको कर्जा वृद्धि भए पनि विदेशी मुद्राको कर्जा घट्दा लगानीमा रहेको कर्जा घटेको हो । फागुन २० गते शुक्रबार ४३ खर्ब २४ अर्ब रहेको निक्षेप २७ गते शुक्रबार ४३ खर्ब २६ अर्ब पुगेको छ ।
फागुन २० गते ४१ खर्ब ७० अर्ब रहेको कर्जा लगानी फागुन २७ गते आउँदा ४१ खर्ब ६९ अर्बमा झरेको हो । यो एक सातामा विदेशी मुद्राको कर्जा ५७ अर्बबाट घटेर ५२ अर्बमा झरेको छ । जसले स्वदेशी मुद्राको कर्जा ४ अर्बले वृद्धि हुँदा पनि समग्रमा घटेको हो ।
फागुन २० गते विदेशी मुद्राको कर्जा ४१ खर्ब १३ अर्ब रहेकोमा २७ गते बढेर ४१ खर्ब १७ अर्ब पुगेको छ ।
यस्तै, विदेशी मुद्राको कर्जा ५७ अर्बबाट घटेर ५२ अर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । सोही अवधिमा स्वदेशी मुद्राको निक्षेप ४२ अर्ब ३१ अर्बबाट घटेर ४२ खर्ब ३० अर्बमा झरेको छ । यस्तै विदेशी मुद्राको निक्षेप भने ९३ अर्बबाट बढेर ९५ अर्ब पुगेको छ ।
माघसम्म मुद्धति निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर दिँदै आएका बैंकहरूले फागुनमा झन्डै एक प्रतिशत बिन्दुले बढाएर ११.०३ प्रतिशत पुर्याएको थिए । ब्याजदर वृद्धिले पनि बैंकहरूमा निक्षेपमा खासै सुधार भने देखिएन । माघ मसान्तमा ४३ खर्ब ११ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप फागुन २७ सम्म आउँदा १५ अर्बले बढेर ४३ खर्ब २६ अर्ब पुगेको छ ।
सोही अवधिमा बैंकहरूले कर्जा १४ अर्बले विस्तार गरेका छन् । माघ मसान्तमा ४१ अर्ब ५५ अर्ब रहेको कर्जा लगानी फागुन २७ गते ४१ खर्ब ६९ अर्ब पुगेको हो । यस अवधिमा स्वदेशी मुद्रामा ४४ अर्बले कर्जा विस्तार गर्दा विदेशी मुद्राको कर्जा भने ३० अर्बले घटेको छ । स्वदेशी मुद्रामा ४० खर्ब ७३ अर्बबाट बढेर ४१ खर्ब १७ अर्ब कर्जा लगानी पुगेको हो । यसै अवधिमा विदेशी मुद्राको कर्जा लगानी भने ८२ अर्बबाट घटेर ५२ अर्बमा झरेको छ ।
फागुन २७ गतेको वाणिज्य बैंकको औसत सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) ९१.०८ प्रतिशत रहेको बैंकर्स संघले जनाएको छ ।