काठमाडौं । वाणिज्य बैंकहरूले चैतमा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् ।
गएको मंसिरदेखि निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गर्दै ब्याजदर १०.०५ प्रतिशत कायम गरेको बैंकर्स संघले फागुनका लागि प्रकाशित हुने ब्याजदर भने अन्तिम समयमा आएर बढाउने निर्णय गरेको थियो ।
तर, चैतमा भने माघमा कायम रहेको ११.०३ प्रतिशत ब्याजदरलाई नै यथावत् राख्ने बैंकर्स संघका एक कार्यकारी सदस्यले बताए । व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर तोक्दा संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत र नवीकरणमा अधिकतम १०.१३ प्रतिशत दिन पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले बचतको न्यूनतम ब्याजदर र मुद्दती निक्षेपको अधिकतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत तोकेकोले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिने बैंकले बचतमा ६.०३ प्रतिशत न्यूनतम ब्याजदर दिनुपर्ने हुन्छ ।
रेमिट्यान्स निक्षेपको हकमा भने बचत र मुद्दतीमा प्रकाशित ब्याजदरमा १ प्रतिशत थप अथवा १२.०३ प्रतिशत ब्याजदर पुग्नेछ । यता, कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशतसम्म ब्याजदर दिन पाइनेछ ।
बैंकहरू फागुनमा नै पनि निक्षेपको ब्याजदर बढाउन तयार नभए पनि राष्ट्र बैंकको निर्देशनमा ब्याजदर बढाउन बाध्य भएका थिए । तर, ब्याजदर वृद्धिपछि पनि निक्षेपमा सकारात्मक प्रभाव नपर्दा चैतमा भने निक्षेपको ब्याजदर यथावत् राख्ने सहमति भएको बैंकर्स संघले जनाएको छ ।
वाणिज्य बैंकले निक्षेपको ब्याजदर यथावत् राख्दा विकास बैंक र वित्त कम्पनीले पनि यथावत् राख्नेछन् ।
फागुनमा नै बैंकहरूले माघमा १०.०५ प्रतिशत रहेको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्याउँदा बैंकहरूको लागत बढिसकेको छ । जसले गर्दा वैशाखबाट लागु हुने नयाँ बेसरेटमा भने कर्जाको ब्याजदर बढ्ने अवस्था छ ।