काठमाडौं । मानव बेचबिखन मुद्दामा संलग्न रहेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७, मुस्ताङ चोक घर भई पोखरा–१७, रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक स्थायी ठेगाना भई पोखरा–६, जरेबर बस्ने २२ वर्षीया पूजा थापामगर र बाँके स्थायी घर भई पोखरा–६, जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पोखरा–६, लेकसाइडमा कोठा भाडामा लिई तथा फोन सम्पर्कका आधारमा विभिन्न होटेलहरूमा महिलालाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यही फागुन १५ गते पक्राउ गरिएको थियो ।
उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट आठ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।