काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले स्वाधीनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा एमाले अछाम–काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलन उद्घाटन गर्दै रावलले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताएका हुन् ।
देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उनले बताए ।
त्यस्तै उनले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरूका नेतालाई जनताले आगामी चुनावमा हराउनुपर्नेसमेत बताए । उनले एमसीसी पारित भएसँगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको दाबी गरे ।
रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वाभाविक रहेको उल्लेख गरे । राष्ट्रघाती विषयमा मात्र आफूले बोलेको भन्दै उनले पार्टीको हितविपरीत कहीँ कतै नबोलेको तर्क गरे ।
नेता रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेकोसमेत बताए ।