काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको छ । निर्णयप्रति पार्टीका चार नेताहरूले असहमति जनाएका छन् ।
आज बिहान पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति राखेका हुन् । उनीहरूले व्याख्यात्मक टिप्पणीको विरोध गरेका थिए ।
यी चारजना नेताहरू सुरुदेखि नै एमसीसीको विपक्षमा रहँदै आएका छन् । उनीहरूले सत्ता गठबन्धन बचाउने नाममा देशप्रति घात हुने काम गर्न नहुने बताएका थिए ।
यसअघि, माओवादी केन्द्रले एमसीसी संसद्मा टेबल भए सरकार छाड्ने निर्णय गरेको थियो । अन्ततः माओवादी एमसीसी अनुमोदन गर्ने पक्षमा उभिएको छ ।
पछिल्लो दुई साता माओवादी केन्द्रका नेता–कार्यकर्ताहरू एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका थिए । केही कार्यकर्ता गम्भीर घाइते समेत भएका छन् ।