काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन २० भित्र सक्नुपर्ने केन्द्रीय निर्वाचन समितिले कार्यतालिका निकालेको छ । कार्यतालिकाअनुसार ६ जिल्लामा यही फागुन १५ गते अधिवेशन गर्नुपर्ने बताइएको छ ।
सोही जिल्ला अधिवेशनका लागि शेखर कोइराला समूहले १० जिल्लाका लागि जिल्ला सभापतिको उमेदवारको टुंगो लगाएको छ । शेखर समूहको शुक्रबार बालुवाटार सम्पर्क कार्यालयमा बसेको बैठकले १० जिल्लामा आफ्नो समूहबाट उठ्ने जिल्ला सभापतिको उमेदवार फाइनल गरेको हो ।
बैठकबाट १० जिल्लामध्ये ८ जिल्लामा आफ्नो ‘सिङ्गल’ उमेदवार खडा गर्ने निर्णय भएको छ । शेखर समूहले अछाम र बारामा भने अर्को समूहको उमेदवारलाई सहयोग गर्ने भएको छ ।
“बैठकमा हाम्रो समूहका पदाधिकारी, समूहका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू तथा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, गुरु घिमिरेलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो,” बैठकमा सहभागी एक नेताले भने,“हामीले १० जिल्लाको उमेदवार टुंगो लगायौँ । बाँकी रहेका ६ जिल्लाको उमेदवार पर्सिसम्म टुंगो लगाउँछौँ ।”
शेखर समूहले सप्तरीमा रामदेव साहलाई जिल्ला सभापति उठाउने निर्णय गरेको छ । यस्तै सिराहमा रामसुन्दर चौधरी सभापतिको उमेदवार बन्ने भएका छन् । धनुषामा दिनेश प्रसौला, सर्लाहीमा लक्ष्मण रायलाई सभापतिको उमेदवार बनाउने निर्णय शेखर समूहले गरेको छ ।
यस्तै, मकवापुरमा जयराम लामिछाने, बाँकेमा नारायण गौडेल, सिन्धुपाल्चोकमा वंशलाल तामाङ तथा नवलपुर महेन्द्रधोज जीसी सभापतिको उमेदवार बनाउने शेखर समूहले निर्णय गरेको छ ।
शेखर समूहको शुक्रबारको बैठकले अछाममा शेरबहादुर देउवा निकट भरत सवारलाई सहयोग गर्ने निर्णय गरेको छ । यस्तै बारामा सहमहामन्त्री उमाकान्त चौधरी निकट मानिने रामानन्द यादवलाई सहयोग गर्ने निर्णय भएको ती नेताले जानकारी दिए । यादव केन्द्रमा शेखर कोइराला निकट मानिन्छन् ।