जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रोपटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मका लागि स्थगित गरेको हो ।
प्रदेशसभा भवनको कम्पाउन्डभित्र कालोपत्र गर्ने काम भइरहको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त भएकाले आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेस भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो । यसअघि, फागुन १ गतेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरिएको थियो । रासस