काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल भइसकेको छ । सो सम्झौताविरुद्ध पछिल्लो दुई सातादेखि राजधानी काठमाडौंमा आन्दोलन चर्कंदो छ ।
प्रदर्शनमा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायत पार्टीका युवा, विद्यार्थी संगठन अग्रमोर्चामा देखिएका छन् ।
आन्दोलनमा दर्जनौँ प्रर्दशनकारी र प्रहरी घाइते भएका छन् । आन्दोलन हिंसात्मक बनाउन केही समूह सक्रिय रहेको पाइएको छ ।
प्रहरीमाथि आइतबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीहरूले ‘पेट्रोल बम’ प्रहार गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार प्रदर्शनकारीहरूबाट ‘पेट्रोल बम’ प्रहार भएको हो ।
एसएसपी गिरीले भने, “धन्न कसैमाथि ‘पेट्रोल बम’ परेन । नत्र ज्यानकै जोखिम हुनसक्थ्यो । प्रदर्शन शान्तिपूर्ण हुँदा हामीले बल प्रयोग गरेका छैनौँ । तर, पछिल्लो समय आन्दोलन हिंस्रक बन्दै गएको छ ।”
बिजुलीबजारमा केही युवाहरूले ‘पेट्रोल बम’ बनाइरहेको सूचना प्रहरीसम्म पुगेको थियो । ‘पेट्रोल बम’ बनाउने समूह फेला नपरे पनि प्रहरीले ‘पेट्रोल बम’ र अन्य सामग्री भने बरामद गरेको छ ।
हिंसा भड्काउने उद्देश्यले नै ‘पेट्रोल बम’, रडलगायत घरेलु हतियारको प्रयोग आन्दोलनमा भएको प्रहरी अधिकारीहरूको बुझाइ छ ।
सुरक्षा अधिकारीहरूका अनुसार आन्दोलनमा माओवादी केन्द्रका नेता–कार्यकर्ता बढी सहभागी थिए । वाईसीएल र अखिल क्रान्तिकारीका नेता–कार्यकर्ता आन्दोलनमा बढी उग्र देखिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।
आइतबार प्रदर्शनकारीले प्रहरीको बा१झ ७८८८ नम्बरको गाडी तोडफोड समेत गरेका थिए । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास तथा रबरका गोली प्रहार गरेको थियो ।
प्रहरीमाथि पेट्रोल बम प्रहार गर्ने तयारीमा प्रदर्शनकारी । तस्बिर : योहो टीभीको भिडियोबाट ।