काठमाडौं । नेपाली कांग्रेसले अवधि समाप्त भएका भ्रातृ संगठनहरूको तदर्थ समिति गठन गर्ने भएको छ । मंगलबार सम्पन्न भएको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सभापतिले फागुन मसान्तभित्र अवधि समाप्त भएका भ्रातृ संगठनको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, भुतपूर्व सेनानी संघ, लोकतान्त्रिक अपांग संघसहितका संगठनको तदर्थ समिति गठन गरिने कांग्रेसले जनाएको छ ।
लामो समयदेखि महाधिवेशन नगरेर निष्क्रीय बनेका भ्रातृ संगठनमा महाधिवेशन नेतृत्व चयनको माग भइरहेका थियो । तर, म्याद थप्दै वैधानिकता दिँदै गरिएका भ्रातृ संस्थाको नेतृत्व रिक्त हुँदासमेत महाधिवेशन छोडेर सभापतिबाट नियुक्त गर्ने तयारी गरिएको हो ।
“नयाँ नेतृत्वलाई तीन महिनाभित्र महाधिवेशन गराउने, महाधिवेशन गर्न नसके समिति स्वत भंग हुने गरी नयाँ नियुक्तिको तयारी भएको छ,” कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, “केन्द्रको हकमा केन्द्रीय सभापतिले, जिल्लाको हकमा जिल्लासभापतिले खाली भएका भ्रातृ संस्थाका नेतृत्व मनोनीत गर्नेछन् ।”