काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।
बैठकमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि पुगेका छन् । उनी वर्तमान सांसद होइनन् । अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा ‘ब्रिफिङ’ गर्न उनी त्यहाँ गएका हुन् ।
डा. महतले गएको आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि एमसीसीका विषयमा ब्रिफिङ गरेका थिए ।
संसदीय दलको बैठक विशेषगरी एमसीसीका विषयमा केन्द्रित छ । यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा सरकारले एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ ।