
काठमाडौं । ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार राति ब्राइटनलाई ३–१ ले हराउँदै एफए कपको पाँचौँ चरणमा स्थान बनाउन सफल भएको छ । प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीले पनि फुलहममाथि ४–१ को सहज विजय हासिल गरेको छ ।
घरेलु टोली टोटनहमले १३औँ मिनेटमा केनको गोलबाट अग्रता लिएको थियो । २४औँ मिनेटमा सोले मार्चको आत्मघाती गोलबाट टोटनहमले अग्रता दोब्बर बनायो ।
६३औँ मिनेटमा येस बिसौमाले गरेको गोलबाट ब्राइटनले पुनरागमनको प्रयास गरेको थियो । तर, केनले ६६औँ मिनेटमा अर्को गोल थपेपछि टोटनहमले सहज जित दर्ता गरेको हो ।
सिटी ४–१ फुलहम
प्रिमियर लिगको शीर्ष क्लब सिटीले पुनरागमन जित निकाल्यो । फबियो कार्भाल्होको गोलबाट फुलहमले चौथो मिनेटमै अग्रता लिएको थियो । त्यसको दुई मिनेट बित्न नपाउँदै सिटीका इल्के गुन्डोगनले बराबरी गोल फर्काए । १३औँ मिनेटमा जोन स्टोन्सले गरेको गोलबाट सिटीले अग्रता लियो ।
दोस्रो हाफमा रियाद महारेजले दुई गोल थपेपछि सिटीले सहज निकाल्यो । ५३औँ मिनेटमा महारेजले व्यक्तिगत पहिलो गोल गरेका थिए । ५७औँ मिनेटमा महारेजले अर्को गोल थपेपछि सिटीले फुलहमलाई ४–१ ले हराएको हो ।
शनिबार राति नै भएका अन्य खेलमा स्टोक सिटीले विगानलाई २–० ले हरायो । उल्भरह्याम्पटन नर्विच सिटीसँग १–० ले पराजित भयो । क्रिस्टल प्यालेसले हर्टलपुल युनाइटेडलाई २–० ले हरायो ।
चेल्सीले प्लेमाउथलाई र वेस्ट ह्यामले किडरमिन्सटर हारियसलाई समान २–१ को नतिजामा पराजित गर्यो । त्यस्तै, एभर्टनले ब्रेन्टफोर्डलाई ४–१ ले हरायो ।