काठमाडौं । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै उनीहरूले शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
जनकपुर कार्यालयले केही दिन अगाडि ज्यालादारीमा काम गर्ने १५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो । रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेसन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेको अहिले आएर विना कारण आफूहरूलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिए ।
रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्ज झाले पूराना कर्मचारीलाई हटाएर ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी नयाँ तालिम दिन थालेपछि पूराना कर्मचारीहरू आन्दोलित भएका हुन् ।