काठमाडौं । केही दिनअघि तनहुँका श्रीराम रानाभाटले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई दुबईबाट फोन गरे । उनले आफू दुबईमा अलपत्र परेपछि उद्धारका लागि मन्त्री श्रेष्ठलाई गुहारे । त्यसपछि मन्त्रालयको पहलमा बुधबार उनी नेपाल आइपुगे ।
झापाका खगेन्द्र लम्सालमार्फत् उनी तीन महिना पहिले भिजिट भिसामा दुबई पुगेका थिए । आकर्षक जागिरको प्रलोभन देखाएर खगेन्द्रले रानाभाटबाट एक लाख ७० हजार लिएका थिए ।
उनी दुबईको एयरपोर्टमा पुग्नेबित्तिकै कोही अपरिचित मान्छेले रानाभाटलाई रिसिभ गरे । त्यसपछि उनको पासपोर्ट, डकुमेन्ट र रुपैयाँ (डलर) मागेर लगियो ।
रानाभाटलाई लागेको थियो, सिधै काम गर्ने ठाउँमा लगिदैछ ।
तर, अपरिचितले उनलाई दुबईस्थित एक लेबर क्याम्पमा लगेर राखे । रानाभाटकाअनुसार तीन महिनासम्म काम लगाइदिने भन्दै उनलाई आश्वासन दिएर राखियो ।
‘‘विभिन्न प्रलोभन र रोजगारी दिलाउने आश्वासनमा परेर दुबई पुगियो । लेबर क्याम्पमा तीन महिनासम्म काम नलगाएर बन्धक बनाएर राखियो । लामो समय काम नपाउँदा पटक–पटक हारगुहार गर्यौँ । तर, टार्ने काम मात्रै भयो । पशुसरह व्यवहार गरियो । कुटपिट, दुर्व्यवहार सबै सहनुपर्यो । र, प्रमाणपत्र पनि जफत गरियो,” उनले भने ।
उनले पटक–पटक नेपालबाट जाँदा दुबई एयरपोर्टमा बुझाएको पासपोर्ट, डकुमेन्ट र डलर फिर्ता मागे । ‘‘तर, लेबरक्याम्पमा बन्धक बनाएर राखियो । कुटपिट गर्ने, खाना नदिने, कोठामा थुनेर राख्ने र ज्यान मार्ने धम्की दिइयो,” रानाभाटले भने ।
उनलाई राखिएको दुबईको उक्त लेबर क्याम्पमा अहिलेपनि हजारौँ नेपालीहरू अलपत्र छन् ।
ओखलढुंगाका भुवन खड्काको पीडा पनि उस्तै छ । उनी दुई लाख ७० हजार रूपैयाँ बुझाएर दुबई गएका थिए । उनलाई पनि आकर्षक तलबको प्रलोभन देखाइएको थियो ।
तर, उनी केही दिनअघि खाली हात नेपाल फर्किएका छन् । उनी भन्छन्, ‘‘गाउँमा ऋण निकालेर श्रम स्वीकृतिलगायतको प्रक्रिया पूरा नगरी भिजिट भिसामा दुबई गइयो । ज्यान मार्ने धम्कीदेखि विभिन्न किसिमको यातना खेपियो । हामी नेपाली हाम्रो नेपाल अभियानमार्फत् अहिले नेपाल त आइपुयौँ । तर, हामीलेजस्तै हजौरौँ नेपाली दाजुभाइहरू यातना खेपेर लेबर क्याम्पमै अलपत्र छन् । उनीहरूको पनि उद्धार होस् ।”
तनहुँकै रामराज सुनार पनि दुई लाख २० हजार रूपैयाँ तिरेर भिजिट भिसामा दुबई पुगेका थिए । उनी पनि रोजगारीको साटो पीडा र ऋण बोकेर घर फर्किएका छन् । उनलाई रोजगारीका लागि भिजिट भिसामा जानुको पीडा बल्ल महसुस भएको छ ।
‘‘दुबई पुग्ने बित्तिकै हामीसँग भएका सबै प्रमाणपत्रहरू खोसिन्छ । अनि हामी पासपोर्ट, प्रमाणपत्र र रूपैयाँ (डलर) विहीन बन्छौँ । त्यसपछि त्यहाँका विभिन्न लेबर क्याम्पमा यातना दिएर राखिन्छ । जति प्रयास गर्दा पनि काम मिलाइँदैन । काम मिलाइदिने सर्तमा गएको उल्टै ज्यान मार्ने धम्की दिन्छन्,” उनले आफ्नो अनुभव सुनाए ।
केही महिना पहिले भक्तपुरका प्रदीपकर्ण बेरीले भिजिट भिसामा दुबई गएर काम पाउने सर्तमा कमल उपाध्यायलाई एक लाख रूपैयाँ बुझाएका थिए । तर, उनलाई विदेशन नै पठाइएन । अहिले उनी आफ्नो १ लाख रूपैयाँ असुल गर्न श्रम मन्त्रालयमा धाइरहेका छन् ।
‘‘मैले कमल उपाध्यायलाई १ लाख रूपैयाँ बुझाएको थिएँ । मलाई विदेश पनि पठाइएन । मेरो रूपैयाँ पनि फिर्ता भएन । विदेश नपुगी नेपालमै ठगिएँ,” प्रदीपले भने ।
‘‘दुबई गएर काम पाउन धेरै संघर्ष गरेँ । तर, काम लगाइएन । मलाई लेबर क्याम्पमै राखियो । प्रलोभन मात्रै देखाइयो,” उनले भने ।
नवराजले आफ्नो पासपोर्ट, डकुमेन्ट माग्दा केही दिनमा काम लगाइदिने आश्वासन दिइयो । त्यहाँ अलपत्र परेपछि उनी चार महिनासम्म प्रताडित बने । अहिले उनी उद्धारमार्फत फर्किएका छन् ।
रित्तो हात फर्किएका उनलाई अब पहिले जाँदा साहुबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।
त्यस्तै चितवनका जयमाणेश तामाङ ३ लाख ८० रूपैयाँ बुझाएर अमित भुसालमार्फत भिजिट भिसामा विदेशिएका थिए ।
तामाङले विदेशमा रोजगारीको साटो कमल उपाध्यायबाट कुटाइ मात्र खाएनन् ज्यान मार्ने धम्की समेत खेपे ।
‘‘लेबरक्याम्पमा कमल उपाध्यायले बेल्टै–बेल्टले हाने । ज्यान मार्ने धम्की समेत दिए । अन्तिममा रित्तो हाल नेपाल फर्कनु पर्यो । अब हाम्रो रूपैयाँ असुल हुनुपर्छ,” तामाङले भने ।
गोरखाका दीलिप विश्वकर्माले लेबरक्याम्पमा खाना नपाएर, काम नपाएर भौतारिनुपरेको बताए ।
‘‘लेबर क्याम्पमा बन्धक बनाएर राखियो । खाना पाएनौँ, पानी पाएनौँ, काम पनि पाएनौँ । अलपत्र पर्यौँ । यस्तो दुर्व्यवहार कसैले पनि भोग्न नपरोस्,” विश्वकर्माले भने ।
यी त केही प्रतिनिधि पात्रका व्यथा मात्रै हुन् । यी सबै जनाले विभिन्न यातना खेपेर स्वदेश फर्किनुपरेको छ ।
त्यसरी यातना सहेर आएकाहरूका नुसार करिब ४० हजार नेपाली भिजिट भिसामा दुबईमा छन् । जसमध्ये १० हजार जनाले मात्रै काम पाएका छन् । बाँकी ३० हजार नेपाली दुबईका विभिन्न सातवटा लेबरक्याम्पमा अलपत्र छन् ।
अलपत्रहरूमध्ये कोही टिपरमुनि सुतिरहेका छन् त कोही भोकभोकै लेबर क्याम्पमा भौतारिरहेका छन् ।
श्रममन्त्री कृष्णकुमार श्रेष्ठ यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँछन् ।
‘‘श्रीराम रानाभाटले अलपत्र पर्दा फोन गरेका थिए । उनीलगायत केही अलपत्र नेपालीलाई तत्काल उद्धार गर्न पहल गर्यौँ । यसपछि केही नागरिकलाई उद्धार गरिसकिएको छ । जो कोही नागरिकले श्रम स्वीकृति लिएर प्रक्रिया पुर्याएर मात्रै विदेश जाँदा दुख पाइँदैन । भिजिट भिसाका नाममा विभिन्न प्रलोभनमा परेर विदेश नजानुहोला,” मन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले मन्त्रालयबाटै भिजिट भिसामा पठाउने एजेन्ट कमल उपाध्यायलाई फोनमार्फत् थर्काए । उनले भिजिट भिसामा दुबई पुर्याएर अलपत्र पारिएका युवाहरूलाई नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न भने । मन्त्री श्रेष्ठले यस कार्यमा ढिलाइ भए तत्काल प्रहरी टोलिसहित आफैँ दुबई पुगेर कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत उनलाई दिएका छन् ।
भिजिट भिसाको समस्या समाधान गर्न श्रम मन्त्रालयको नेतृत्वमा गृह मन्त्रालय, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, श्रम मन्त्रालय, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वैदेशिक रोजगारी विभागको कार्यदल 'मार्सल टिम' गठन गरिएको छ । त्यो टिममा सीआईबी पनि रहनेछन् ।
मन्त्रालयकाअनुसार अहिलेसम्म दुबईमा अलपत्र परेका करिब २८ जनालाई उद्धार गरिएको छ । मन्त्रालयले २४ सै घण्टा अलपत्र परेकाहरूको गुनासो सुन्नेगरी स्थापना गरेको गुनासो सेन्टर आइतबारदेखि सञ्चालनमा आउने मन्त्री श्रेष्ठले बताए ।
गुनासोका लागि दईओटा मोबाइल नम्बर (९८२३२५६७०६ र ९८२३२५६७०४) को व्यवस्था मिलाइएको छ । अलपत्र परेकाहरूले मन्त्रालयले उपलब्ध गराएका नम्बरमा फोन गरेर गुनासो टिपाउन सक्ने छन् ।
गुनासोको अध्ययन गरेर तत्काल कारबाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी