काठमाडौं । नेपाल औषधि उत्पादक संघले भोलिसम्म बजारमा ३५ लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने भएको छ । संघका महासचिव विप्लव अधिकारीले भोलिसम्म बजारमा ३५ लाख ट्याब्लेट सिटामोल पठाउन लागिएको जानकारी दिए ।
पछिल्लो दुई सातायता बजारमा सिटामोलको खपत बढी भएको तर अभावको अवस्था भने नरहेको अधिकारीले दाबी गरे ।
“पछिल्लो समय सिटामोलका लागि आवश्यक र तथा प्याकिङ मेटिरियल नियमित नै आइरहेको छ । सिटामोलजस्तो अत्यावश्यक औषधि हामी कुनैपनि हालतमा अभाव हुन दिँदैनौँ,” अधिकारीले बाह्रखरीसँग भने ।
सरकारी अस्पतालहरूबाट नि:शुल्क वितरण हुनेबाहेक नेपाली बजारमा बार्षिक सात करोड चक्की सिटामोल खपत हुने गरेको छ । त्यसका लागि २५ वटा नेपाली कम्पनीले उत्पादन गरिरहेका छन् । यसले बजारको ९९ प्रतिशत माग धान्ने गरेको छ ।
सरकारले गत मंगलबारमात्रै काठमाडौं उपत्यकाका १६ वटा अस्पताललाई ८८ हजार ट्याब्लेट सिटामोल पठाएको थियो । साथै सरकारका विभिन्न प्रदेशमा रहेका स्टोरहरूमा १ करोड ३० लाखभन्दा बढी ट्याब्लेट सिटामोल भण्डारणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।