site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रेडक्रसमा भद्रगोल : महासचिवका विशेषदूत नेपालमा, नेपाल रेडक्रस नै निलम्वन हुन सक्ने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा चर्केको विवादका सम्बन्धमा छलफल गर्न अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवका विशेषदूत नेपाल भ्रमणमा आएका छन् । नेपाल रेडक्रसमा समस्या बढ्दै गएपछि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले चासो देखाएको हो ।

आईएफआरसीका महासचिव जगन चापागाईका विशेषदूतका रूपमा गत बिहीवार नेपाल आएका वाल्टर कोट्टेले शुक्रबारदेखि नै छलफल गरिरहेका छन् । उनले नेपाल रेडक्रसका साथै परराष्ट्र तथा गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल गरी स्थितिको जानकारी लिएका थिए । 
 
महासचिवका विशेष दूत नेपाल आएको पुष्टि रेडक्रसका अधिकारीले गरेका छन् । “नेपाल रेडक्रसमा भएको समस्या के हो भनी बुझ्नको लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का महासचिवले आफ्नो विशेष प्रतिनिधि पठाउनुभएको छ । उहाँ विहीबार काठमाडौं आउनुभएको हो,” नाम खुलाउन नचाहने नेपाल रेडक्रसका ती कर्मचारीले भने ।
 
उनका अनुसार कोट्टेले रेडक्रसका सम्बन्धित व्यक्तिहरूसँग व्यापक छलफल गरिसकेका छन् । “नेपाल रेडक्रसका पदाधिकारीहरूसँग उहाँले छलफल गर्नुभयो । सरकारको माथिल्लो तहमा को कोसँग छलफल गर्नुभयो भन्ने थाहा छैन । तर, हाम्रो बुझाइमा उहाँले रेडक्रससँग सम्बन्धित सरोकारवाला पक्ष र सरकारसँग पनि छलफल गर्नुभएको छ,” उनले भने ।
 
पटक पटक बनाइएका तदर्थ समितिसहित नेपाल रेडक्रममा भएको समस्याबारे प्रश्न उठेपछि महासचिवले विशेष प्रतिनिधि पठाएर वास्तविकता बुझ्न खोजेका हुन् ।

“खास समस्या के हो र सहज तरिकाले कसरी निकास दिन सकिन्छ भन्ने उद्देश्यमा नै केन्द्रित रहेर उहाँले छलफल गरिरहनुभएको छ । रेडक्रसको महासंघ भएकाले उहाँहरूलाई पनि चासो हुन्छ । नेपाल रेडक्रसको विवाद कसरी सहज तरिकाले समाधान निकाल्न सकिन्छ भनेर नै अवस्था बुझ्ने काम उहाँले गरिरहनुभएको छ,” ती अधिकारीले भने । 

Dabur Nepal

विवादको पृष्ठभूमि

निर्वाचित कार्यसमितिमाथि भ्रष्टाचारको आरोप लगाएर नेपाल सरकारले भंग गरी तदर्थ समिति बनाएको थियो । तदर्थ समितिले पनि बेलैमा रेडक्रसको महाधिवेशन गर्न नसकेपछि सरकारले पटक पटक समिति भंग गर्दै अर्को समिति बनाउने काम गर्दा नेपाल रेडक्रस विवादको भुमरीमा परेको हो ।
 
नेपाल रेडक्रस सोसाइटीमा एकैपटक दुईजना अध्यक्ष कार्यालयमै उपस्थित हुन थालेपछि भद्रगोल मच्चिएको छ । तोकिएको कार्यादेश पूरा गर्न नसकेर भंग गरिएको नेत्रप्रसाद तिम्सिना अध्यक्ष रहेको समितिलाई उच्च अदालतले थमौती दिएपछि नेपाल रेडक्रसको केन्द्रमा एकैपटक दुई अध्यक्ष भएका छन् ।

अघिल्लो सरकारले निर्वाचित समिति भंग गरी तिम्सिनाको अध्यक्षतामा समिति बनाएको थियो । तदर्थ समितिलाई दिइएको कार्यादेश पूरा नगरेको भन्दै अहिलेको सरकारले सुदर्शन नेपालको अध्यक्षतामा अर्को तदर्थ समिति गठन गर्यो । यसरी सरकारले गठन गरेका तदर्थ समितिहरूका अध्यक्ष दुवै जना रेडक्रसको कार्यालयमा जाने गरेपछि तमासा भएको छ ।

“एक/एक दिन पालैपालो गरेर कार्यालयमा आउनुहुन्छ । तर, हामीले दुवै जनालाई रेस्पोन्स गरेका छैनौं,” कार्यालयमा कर्मचारीले भने ।

अध्यक्ष तिम्सिनाको समयावधि सकिएको एक साता बढी भए पनि उनी कार्यालयमा गइरहेका छन् । तिम्सिनालाई अदालतले काम गर्नका लागि बाटो खोलिदिएको थियो । “अदालतले अर्को आदेश नहुँदासम्म निरन्तरता दिनू भन्ने आदेशलाई आफू अनुकूल व्याख्या गरेर उहाँ कार्यालयमा आइरहनु भएको छ । वर्तमान सरकारले बनाएको तदर्थ समितिका अध्यक्ष नेपाल पनि कार्यालय आइरहनुभएको छ,” ती अधिकारीले भने । पुस ३० गते दुवै पक्षको उपस्थितिमा आदेश दिने भनिएता पनि सोही दिन सुनुवाई हुन सकेन ।

रेडक्रसका सूचना अधिकारी धर्मदत्त बिडारीले तिम्सिना र नेपाल दुवै जना अध्यक्षका रूपमा कार्यालयमा आउने गरेको पुष्टि गरे ।
 
कहाँबाट भयो विवाद ?   

२०७५ चैत्रमा निर्वाचित कार्यसमितिको समयावधि सकियो । समयावधि सकिन लागेको भनेर धरानमा महाधिवेशन तोकिएको थियो । सबै जिल्लाबाट प्रतिनिधि धरान पुगिसकेका थिए । केन्द्रबाट चुनाव गराउन कर्मचारीहरु पनि पुगिसकेका थिए । तर, चुनाव गर्न नदिनू भनेर काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीको पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई गयो । त्यसपछि सुनसरीका प्रजिअले रेडक्रसको अधिवेशन रोकेका थिए । अधिवेशन नै हुन नसकेपछि निर्वाचन पनि स्थगित भयो ।
 
चुनाव स्थगित भएपछि अघिल्लो महाधिवेशनबाट निर्वाचित अध्यक्ष संजीव थापाको कार्यसमितिले विधानमा भएको व्यवस्थाअनुसार एक वर्षको आफ्नो म्याद थप्यो । यसरी २०७६ चैतसम्म थपिएको म्यादभित्र पनि महाधिवेशन हुन नसके अर्को तीन महिना पनि थप्न पाउने प्रावधान थियो । 

तर समितिले एकवर्ष म्याद थपेको केही समयमै सरकारले २०७६ सालमा निर्वाचित समिति भंग गरी विश्वकेशर मास्केको अध्यक्षतामा तदर्थ समिति बनायो ।
 
सरकारले समिति भंग गरिदिएपछि निर्वाचित समिति अदालत गयो । विधानअनुसार म्याद थपेको ठहर गर्दै अदालतले पुरानै समितिलाई थमौती गरिदियो । अदालतले निर्वाचित समितिलाई भंग गर्न दिएन । उनीहरुले २०७६ चैतदेखि २०७७ असार २४ गतेसम्म काम गरे ।
 
त्यसपछि फेरि सरकारले नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ तदर्थ समिति बनायो । तिम्सिना समितिले अधिवेशन गराउन नसकेको भन्दै सरकार फेरिएपछि अर्को तदर्थ समिति बनाइयो सुदर्शन नेपालको अध्यक्षतामा । त्यसपछि तिम्सिना अदालत गए । अदालतले पुस ३० गते दुवै पक्षको सुनुवाई नहुँदासम्मका लागि यो कार्यान्वयन नगर्नु भनेर पुरानो तदर्थ समितिलाई यथास्थितिमा राख्न आदेश दियो । 

तर, पुस ३० गते सुनुवाई हुन सकेन । पुस ३० गते सुनुवाइ हुन नसकेपछि पहिलो सरकारले नियुक्ति दिएको आधारमा तिम्सिनाको म्याद माघ ३ गते सकियो । त्यसपछि अदालतको कुनै आदेश आएको छैन ।
 
सुदर्शन नेपालले भने माघ ३ गतेपछि तिम्सिनाको म्याद स्वतः सकिने र त्यसपछि आफू नै अध्यक्ष भएको दाबी गर्दै आएका छन् ।

तर, रेडक्रसका कर्मचारी भने तिम्सिनाको म्याद सकिएको र सुदर्शन नेपाललाई अदालतले काममा लगाउनू नभनेकाले संस्था ‘शून्य’मा गएको बताउँछन् ।

संस्थाको अवस्थाका सम्बन्धमा कार्यकारी निर्देशकको नेतृत्वमा रेडक्रसका कर्मचारीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन् । 

“संस्था कसरी संचालन गर्ने हो, यसको निरुपण गरिदेऊ भनेर हामीले  सीडीओमार्फत् मन्त्रालयलाई पत्र दिएका छौँ,” ती कर्मचारीले बताए । 

दुई जना अध्यक्ष कार्यालयमा आइरहेको र रेडक्रसमा अन्योलको अवस्था उत्पन्न भएका बारेमा कर्मचारीले सरकारलाई जानकारी गराएका छन् ।

रेडक्रसको संगठनमा सरकारले हस्तक्षेप गरेपछि अन्तर्राष्ट्रिय महासंघले चिन्ता प्रकट गर्दै विशेषदूत पठाएको हो । 

विशेषदूतको भ्रमणका सम्बन्धमा जानकारी राख्ने रेडक्रसका एकजना पूर्वपदाधिकारीअनुसार स्थिति गम्भीर भएको ठानेर नै महासचिवकै विशेषदूत नेपाल पठाइएका हुन् । 

उनका अनुसार नेपाल सरकारले हस्तक्षेप नगर्ने र विधानसम्मत अधिवेशन गरेर नेपाल रेडक्रसको केन्द्रीय समिति गठन हुने विश्वास नलागेमा महासंघले नेपाललाई दिने सहायता रोक्न सक्छ । त्यसपछि पनि सरकारी हस्तक्षेप नरोकिएमा नेपालको रेडक्रस नै निलम्वित हुन सक्छ । नेपाल रेडक्रसको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गर्दै उनले भने,“नेपाल रेडक्रस निलम्वित हुने अवस्था दुर्भाग्यपूर्ण हुनेछ । यसबाट देशकै अन्तर्राष्ट्रिय जगतमा साख गिर्नेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro