site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीकै मोटरसाइकलमा फरार भएका कैदी एक महिनापछि पक्राउ

दाङ । दाङको घोराही कारागारबाट फरार कैदीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही कारागारबाट उपचारको बहाना बनाएर फरार भएका राजपुर गाउँपालीका ३ बस्ने २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका परियार गत पुस ८ गते फरार भएका थिए । जिल्लाकाे घाेराहीस्थित एक होटेलबाट उनी फरार भएका थिए । परियारले उपचारका लागि उनैलाई लगेर गएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।

Argakhachi Cement Island Ad

कैदी परियार फरार भएपछि छानबिन तथा खोजतलास समिति गठन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तालुक प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा मार्फत भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य गर्ने क्रममा सोमबार नेपाल भारतको सिमाक्षेत्र बाँके नेपालगञ्ज १५ जमुनाहनाकाबाट पक्राउ गरिएको डीएसपी रिजालले पत्रकार सम्मेलनमा बताए ।

कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय भएकोमा परियारले हाल सम्म ७ वर्ष कैद भुक्तान गरिसकेका छन् । कारागारमा पहिला चौकीदार हुँदै नाइके समेत भएका परियार फरार भई पक्राउ परेपछि कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार थप कारबाही हुने भएको छ । परियारलाई बाँकी कैदको डेढी बढाई कैद सजाय तोकिने डीएसपी रिजालले जानकारी दिए ।      

कैदी फरार प्रकरणमा संलग्न रहेकाे आशङ्कामा दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । कारागार चलान हुनेमा कैदीलाई अस्पताल लैजाने प्रहरी धनबहादुर चाैधरी रहेका छन् । त्यस्तै कारागार चलान हुनेमा एक युवती समी चाैधरी रहेकी छन् ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्