इस्तानबुल । टर्कीमा एकजना चर्चित महिला पत्रकारलाई राष्ट्रपतिको अपमान गरेको आरोपमा गिरफ्तार गरिएको छ । प्रहरीले सेदेफ कवास नाम गरेकी पत्रकारलाई इस्तानबुलबाट पक्राउ गरेको हो ।
उनलाई अदालतले नै पक्राउ गर्न आदेश दिएको हो । अदालतले मुद्दा चलाउनुअघि नै उनलाई कारागारमा थुन्न आदेश दिएको छ ।
उनीमाथि विपक्षी राजनीतिक पार्टीसँग आवद्ध टेलिभिजन च्यानलको प्रत्यक्ष कार्यक्रममार्फत राष्ट्रपति रिसेप तायिप एर्दोगन लक्षित व्यङ्गात्मक कथन प्रयोग गरेको अभियोग लगाइएको छ । तर, उनले भने अभियोग अस्वीकार गरेकी छन् ।
टर्कीको प्रचलित कानुनअनुसार यस अभियोगमा उनलाई एकदेखि चार वर्ष लामो काराबास सजाय हुनसक्छ ।
उनले टेले १ च्यानलमा भनेकी थिइन्, "एउटा लोकप्रिय कथनअनुसार मुकुट लगाएको टाउको धेरै बुद्धिमान हुन्छन् रे । तर हामीले त्यस्तो हैन भन्ने देखिरहेका छौँ । दरबार छिर्दैमा एउटा साँढे कहिल्यै राजा बन्न सक्दैन । तर अवश्य पनि दरबार भने गोठ बन्नपुग्छ ।"
त्यसपछि उनले तत्कालै ट्विटरमा एर्दोगनका प्रमुख प्रवक्ता फहरेत्तिन आल्तुनले आफ्नो त्यो कथनलाई ‘गैरजिम्मेवारपूर्ण’को संज्ञा दिएको उल्लेख गरेकी थिइन् ।
आल्तुनले अनलाइनमा पोस्ट गरेको थिए, "एकजना तथाकथित पत्रकारले टेलिभिजन च्यानलमा नियतवश हाम्रा राष्ट्रपतिको अपमान गरेकी छन् । उनको मूल उद्देश्य नै राष्ट्रपतिविरुद्ध घृणा फैलाउनु रहेको छ ।"
टेले १ च्यानलका सम्पादक मिर्दान यानार्दागले कवासको गिरफ्तारीको कडा आलोचना गरेका छन् । सम्पादकले भनेका छन्, "एउटा कथनका लागि बिहानको २ बजे कसैलाई पक्राउ गरिनु स्वीकार्य छैन । यो कदमले भनेको पत्रकार, संचार माध्यम र समाजमा हस्तक्षेप गरेको ठहर्छ ।"
एघार वर्ष प्रधानमन्त्री बनेका एर्दोगन सन् २०१४ को अगस्टमा मुलुकै पहिलो प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनेका थिए । आफ्ना आलोचकहरूलाई दमन गर्ने गरेकोमा युरोपेली संघ लगायत अन्तर्राष्ट्रिय जगतले उनको विरोध गर्दै आएको छ ।
बीबीसीबाट ।