लन्डन । २०२० को मे महिनामा देश कोभिड संक्रमणको चरम अवस्थाबाट गुज्रिरहेका बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सरकार चाहिँ वाइन पार्टी गर्नमा व्यस्त रहेको खुलासा भएसँगै उनको सरकार यतिखेर संकटमा परेको छ ।
तर उनले सो भेला कामको सिलसिलामा रहेको ठानेर उपस्थित भएको बताउँदै आएका छन् । सो पार्टीमा सय जनालाई निम्ता गरिएको थियो भने तीस बढीले उपस्थिति जनाएका थिए ।
यो घटना मे महिनाको हो जबकि बेलायतमा मार्चदेखि नै लकडाउन गरिएको थियो । देशभरका जनता त्रासले घरभित्रै थुनिएर बसिरहँदा बोरिस जोन्सनको प्रशासन चाहिँ कसरी गैरजिम्मेवारीपूर्ण रुपमा आफूले नै बनाएका नियमको उल्लङ्घन गरेको यसले स्पष्ट पारेको छ ।
त्यस समय लकडाउन जारी गर्दै गर्दा जोन्सन आफैँले कोभिडको मापदण्ड पालना नगरेमा जरिवानालगायत विभिन्न सजायको सामना गर्नुपर्ने बताएका थिए ।
र, अतिआवश्यक कामबाहेक घरबाट बाहिर निस्कनेमाथि कारबाही पनि गरिएको थियो । यतिमात्र नभएर घरभित्रै पनि ठूलो समूहमा भेला हुन प्रतिबन्ध लगाइएको थियो ।
तर १५ मे का दिन प्रधानमन्त्री र उनका स्टाफहरु वाइनलगायत मदिरा लिएर गार्डेनमा पार्टी गरिरहेको अवस्थामा देखा परे ।
यसबारे प्रश्न उठेपछि जोन्सनले पहिले त आफूहरुले कामबारे छलफल मात्र गरिरहेको बताएका थिए ।
तर वास्तवमा पार्टी सानो नभएर ठूलै गरिएको खुलासा भयो । यसमा इमेलमार्फत सामाजिक दुरी कायम गरेर नम्बर टेन गार्डेनमा सबैलाई उपस्थित हुन भनिएको थियो । उपस्थित तीस जनामध्येमा प्रधानमन्त्रीसहित उनकी पत्नी पनि थिइन् ।
जोन्सनले आफू केबल २५ मिनेट मात्र त्यहाँ बसेको र सबै कामसँग सम्बन्धित समारोह मात्र भएको दाबी गरेका थिए ।
यस्तोमा कन्जरभेटिभ पार्टीले आफूहरु अवैध रुपमा भेला भएको स्वीकार गरिसकेका छन् । तर पनि जोन्सनले आफूहरुले कुनै गल्ती नगरेकोमै जोड दिँदै आएका छन् । डाउनिङ स्ट्रिटका स्टाफले दुईवटा पार्टी आयोजना गरेका थिए । यसका लागि सञ्चारमन्त्री लगायत संलग्न थुप्रै नेताहरुले माफी पनि मागे ।
र बुधबार प्रधानमन्त्री जोन्सन आफैँले संसदमा सम्बोधन गरि अन्ततः माफी मागेका हुन् । तर माफी एक्लैले कोभिडको मारमा परेका, लकडाउनमा अनेकौँ त्याग गर्नुपरेका, परिवार गुमाएका जनताको आक्रोश शान्त गर्न नसक्ने देखिएको छ ।
सन् २०२० को लकडाउनका समयमा आफूले गैरजिम्मेवारीपूर्ण रुपमा पार्टी गर्दा समेत महिनौँसम्म कुनै नियम कानुन नतोडेको दाबी गरिरहने प्रधानमन्त्री बोरिसले पद त्याग गर्नु नै उचित हुने अहिले अधिकांशको भनाइ छ ।
यसमा विपक्षी पार्टीका नेताहरु मात्र नभएर आफ्नै पार्टीका सदस्यहरुले समेत जोन्सनबाट मुख फेरिरहेका छन् ।
सुरक्षित भविष्यका लागि, सार्वजानिक हितका लागि भनेर सबै कोभिड नियमहरु राम्ररी पालन गरेका लाखौँका लागि यो काण्ड अत्यन्तै निराशाजनक बनेको छ । यसमा कतिले मृत्युको मुखमा रहेका परिवार, साथीभाइलाई अन्तिम बिदाइ समेत गर्न पाएका थिएनन् ।
त्यसैले पनि बढ्दो सङ्ख्यामा वरिष्ठ सांसदहरुले उनलाई पद मुक्त गर्न औपचारिक पत्र लेखेका छन् ।
केही समय अगाडिसम्म जोन्सनको पक्ष बलियो देखिन्थ्यो, उनी दशकौँसम्म सत्तामा रहिरहन सक्ने सबैको धारणा थियो ।
जतिसुकै अप्रत्याशित रुपमा भए पनि उनले बेलायतलाई युरोपेली युनियनबाट बाहिर ल्याएका थिए ।
वास्तवमा जोन्सनको यो पहिलो काण्ड होइन । उनी व्यक्तिगत जीवनदेखि राजनीतिक यात्रासम्म अत्यधिक विवादित पात्र मानिन्छन् । तर पनि स्पष्ट रुपमा उनले बेलायती जनताबाट माफी पाउँदै आएका थिए । सबैले उनलाई रमाइलो स्वभावको, आशावादी, जनताको प्रधानमन्त्रीका रुपमा हेरेका थिए ।
अवैध सम्बन्ध राखेर धोका दिएका पत्नीहरुलेसमेत उनलाई माफ गरिसकेका छन् । यहाँसम्मकी कोभिडको गम्भीर अवस्थामा समेत सबैले उनको प्रतिक्रियालाई ‘ठीकै छ उनले सक्दो गरिरहेका छन्’ नै भनिरहेका थिए । तर यसपटक भने उनी सजिलै उम्किन पाउने जस्तो देखिँदैनन् । हालको काण्डबारे सामाजिक सञ्जालदेखि उनको घर आसपाससम्म आक्रामक प्रतिक्रियाहरु आइरहेका छन् ।
तरपनि उनको पार्टीका कम्तीमा ६४ सदस्यले उनलाई पदमुक्त गर्न सिफारिस गरिसकेपछि मात्र उनको वर्तमान राजनीतिक यात्रा अन्त्य हुन सक्ला ।
यसरी बोरिस जोन्सन दिन प्रतिदिन संवेदनशील स्थितिमा छन् ।
यसका साथै जोन्सनमाथि आफ्नो गैरजिम्मेवारीपूर्ण व्यवहारको परिणामका बदलामा संचार माध्यम बीबीसीको आर्थिक कोषमा दुई वर्ष कटौती गर्न लगाएको आरोप पनि लागेको छ ।
हालैमा गरिएको एक सर्वेक्षणमा केबल २२ प्रतिशतले मात्र प्रधानमन्त्रीका रुपमा जोन्सनको काम स्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी सबैभन्दा उदारवादी मानिने टोरी पार्टीका डोनरहरुले समेत जोन्सन अब राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । २०१३ देखि टोरिजलाई झन्डै ४० लाख पाउन्ड दान गरिसकेका ट्याक्सी फर्म टाइकुन, जोन ग्रिफिनले पनि हालको यो काण्डबारे अधिक चिन्ता जनाएका हुन् ।
यता कन्जरभेटिभ समर्थकमाझ गरिएको अर्को एक सर्वेक्षणमा पनि ४० प्रतिशत, जोन्सनले राजीनामा दिनुपर्ने पक्षमा रहेको पाइएको थियो ।
संसदहरुले पछिल्लो समय आक्रोशित मतदाताहरुबाट अबदेखि कहिल्यै पनि कन्जरभेटिभलाई मत नहाल्ने भन्दै इमेल पाइरहेको गुनासो गरेका छन् ।
जोन्सन र उनका स्टाफले राजकुमार फिलिपको अन्तिम संस्कार कार्यक्रमकै रात समेत एक सुटकेस वाइन सहितको पार्टी गरेको पत्ता लागेपछि राजपरिवार माझ पनि उनको छवि बिग्रन पुगेको हो । यसका लागि बोरिसले राजपरिवार र महारानी एलिजाबेथसँग माफी मागिसकेका छन् ।
२०१९ मा बोरिसको पक्षमा मत हाल्ने ४८ प्रतिशतले अहिले उनी पदबाट हट्नुपर्ने बताइरहेका छन् । यसरी गैरजिम्मेवारीपूर्ण एउटा सानो कदमले बोरिसको भविष्य संकटमय तुल्याएको छ । र, उनले यसलाई कसरी सम्हाल्नेछन् भन्ने उनकै हातमा छ । तर पनि यो घटना बेलायतको राजनीतिक इतिहासमा लामो समय याद रहने पक्का देखिन्छ ।
विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुको सहयोगमा